ताजा समाचार

चौधरीलाई नयाँ ठाउँको तनाव, त्रिपाठीलाई परिवर्तनको डर

नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ को चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ । कसैलाई नयाँ ठाउँको चिन्ताले तनाव सिर्जना भएको छ भने कसैलाई परिवर्तनको डरले सताएको छ ।

निर्वाचन क्षेत्र नं १ को प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय विनोदकुमार चौधरी र हृदयेश त्रिपाठी चुनावी रणभूमिमा आमनेसामने छन् । उद्योगपति एवं अर्बपति चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन् । त्रिपाठी जनता प्रगतिशील पार्टीबाट चुनावी मैदानमा छन् । चौधरी लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवारसमेत छन् ।

त्यस्तै त्रिपाठीले नेकपा (एमाले) को समर्थनमा उम्मेदवारी दिएका छन् । यी दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चौधरीले लोकतान्त्रिक वाम–गठबन्धनबाट उम्मेदवारी दिए पनि उनले निर्धक भएर ‘म चुनाव जित्दैछु’ भन्न सकेका छैनन् ।

यस्तै यो क्षेत्रबाट लामो समयदेखि राजनीति गर्दै आएका त्रिपाठी पनि म चुनाव जित्छु भन्नसक्ने अवस्थामा देखिदैनन् । मधेसको मुद्दामा लामो समय राजनीति गर्दै पाँच पटक विजयी हासिल गरेका त्रिपाठी २०७४ सालको निर्वाचनदेखि एमालेको सहारामा चुनाव लड्न बाध्य छन् ।

विसं २०७४ को निर्वाचनमा त्रिपाठीले सूर्य चिह्न लिएर विजयी भएको थियो । अहिले उनी आफ्नै पार्टीको चुनाव चिह्न कोदालो बोकेको किसान लिएर चुनावमा होमिएका छन् ।

स्थानीय तह निर्वाचन परिणामको विश्लेषण

नवलपरासी १ नम्बर क्षेत्र अन्तर्गत बर्दघाट नगरपालिकाका १६ वटा वडा, प्रतापपुर गाउँपालिकाका ९ वटा वडा, सुस्ता गाउँपालिकाका ५ वटा वडा र सरावल गाउँपालिकाका ४ वटा वडा पर्दछन् ।

बर्दघाट नगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने १६ वटा वडामध्ये काँग्रेसले ११ वटा, एमालेले २ वटा, माओवादी केन्द्र, जनता समाजावदी र स्वतन्त्रले एक–एक वडामा जित हासिल गरेको छ । १६ वटा वडामा काँग्रेसले पाएको कुल मत १६ हजार २६७ छ भने गठबन्धनको कुल मत १७ हजार ९४४ रहेको छ । त्यस्तै एमालेले १६ वडामा १४ हजार ४१८ मत प्राप्त गरेको छ ।

त्यस्तै प्रतापपुर गाउँपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने ९ वटा वडामध्ये काँग्रेसले ४ वटा, राप्रपाले २ वटा, एमाले, माओवादी र जनता प्रगतिशिल पार्टीले एक–एक वटा वडा जितेको छ । यी ९ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा काँग्रेसले ४ हजार ५९२ मत ल्याएको छ । सत्ता गठबन्धनको कुल मत ६ हजार ५९९ रहेको छ । त्यस्तै एमालेले २ हजार ९४० मत प्राप्त गरेको छ भने जनता प्रगतिशिल पार्टीले २ हजार ८७७ मत ल्याएको छ । यस्तै हृदेश त्रिपाठीलाई समर्थन गरेको जनता समाजवादी पार्टीले १८ सय ४२ मत प्राप्त गरेको छ । त्रिपाठीलाई समर्थन गर्ने पार्टीहरुको कुल मत ७ हजार ६५९ मत रहेको छ ।

त्यस्तै सुस्ता गाउँपालिकाका ५ वटा वडामध्ये काँग्रेसले ३ र एमालेले २ वटा वडामा जितेको छ । यी ५ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा काँग्रेसले ६ हजार ४२ मत ल्याएको छ । सत्ता गठबन्धनको कुल मत ६ हजार ९९५ रहेको छ । त्यस्तै एमालेले ५ हजार ६८४ मत ल्याएको छ । यस्तै हृदेश त्रिपाठीको पार्टीसहित समर्थन गर्ने पार्टीहरुको कुल मत ६ हजार ३३३ मत रहेको छ ।

त्यस्तै सरावल गाउँपालिकाका ७ वडा मध्ये वडा नम्बर ४,५, ६ र ७ निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । यी ४ वटा वडामध्ये काँग्रेसले २, एमाले र माओवादीले एक–एक वडामा जितेको छ । यी ४ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा काँग्रेसले ७ हजार १४९ मत ल्याएको छ । सत्ता गठबन्धनको कुल मत ९ हजार ६१ रहेको छ । त्यस्तै एमालेले ३ हजार ७०८ मत ल्याएको छ । यस्तै हृदेश त्रिपाठीको पार्टीसहित समर्थन गर्ने पार्टीहरुको कुल मत ४ हजार २२ मत रहेको छ ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा पर्ने चार स्थानिय तहका जम्मा ३४ वटा वडामा काँग्रेसले ३४ हजार ५० मत पाएको छ । त्यस्तै सत्ता गठबन्धनको वडा अध्यक्षले पाएको कुल मत जोड्दा ४१ हजार ७११ हुन आउँछ । त्यस्तै एमालेले २६ हजार ७ सय ५० मत प्राप्त गरेको छ भने हृदेश त्रिपाठीको पार्टीसहित समर्थन गर्ने पार्टीहरुको कुल मत ३२ हजार ३६४ रहेको छ ।

यसरी हेर्दा पश्चिम नवलपरासी–१ का कुल ३४ वडामा वडा अध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन ९ हजार ३४७ मतले अगाडी देखिएको छ ।

उम्मेदवार

यस निर्वाचनमा पश्चिम नवलपरासी–१ बाट हृदेश त्रिपाठी र विनोद चौधरीसहित कुल ३५ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा राप्रपाबाट भोजराज ढकाल, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण गोविन्द खाइजु, जनमत पार्टीबाट गुलाब प्रसाद चौधरी, मौलिक जरोकिलो पार्टीबाट गोपाल पोखरेल, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट धर्म चौधरी, राष्ट्रिय जनमक्ति पार्टीबाट हफिजुल्लाह अन्सारी, बहुजन शक्ति पार्टीबाट काशीलाल चमार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र शेन (ठकुरी) रहेका छन् ।

त्यस्तै यस क्षेत्रमा कुल ७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा देवी वि.क., कृष्ण बहादुर कामुमगर, भक्त बहादुर काम्मु, सीता देवी वौडेल, श्रीराम आचार्य, अजय शाही र सिर्जना तिवारी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *