मुख्य समाचार

‘संसद्को कार्यकाल उम्मेदवारी मनोनयनको दिनसम्म, महाभियोग अघि बढ्छ’

काठमाडौं।उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभाको अवधि उम्मेदवारी मनोनयनको दिनसम्म रहने बताएकी छन्। संसद्को अवधिबारे फरक फरक कुराहरु आइरहेका बेला बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपसभामुख भुसालले यस्तो बताएकी हुन्।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले पनि उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिनसम्म संसद् चालू रहने बताएका छन्। केही संविधानविद्हरूले भने सरकारले निर्वाचनको मिति घोषणा गरेकै दिन संसद् विघटन हुनुपर्ने तर्क गरेका छन्। निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गरेको अघिल्लो दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहने भनेको छ।

संविधानको धारा ८५ ले प्रतिनिधिसभा तथा धारा १७७ ले प्रदेशसभा अगावै विघटन भएको अवस्थामा बाहेक कार्यकाल पाँच वर्षको हुने उल्लेख गरेको छ। संकटकालीन अवस्थाको घोषणा वा आदेश लागू भएको अवस्थामा प्रतिनिधिसभा तथा प्रदेशसभाको कार्यकाल एक वर्षमा नबढ्ने गरी थप गर्न सकिने व्यवस्था छ। संसद् विघटन बदर गर्ने फैसलामा सर्वोच्च अदालतले संसद् पूर्ण कार्यकाल चल्नुपर्ने भनेको छ।

फरक प्रसंगमा उपसभामुख भुसालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव अघि बढ्ने पनि बताएकी छन्। गत फागुन १ गते राणामाथि प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको छ।

जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्ताव साढे पाँच महिना बितिसक्दा पनि अघि बढेको छैन। प्रतिनिधिसभाको बैठक निरन्तर चलिरहे पनि जबराविरुद्धको महाभियोग प्रस्ताव संसद् सचिवालयको कार्यसूचीमा अटेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *