काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकका विभिन्न स्थानमा गएको बाढी र पहिरोले पुर्याएको क्षति तथा राहत र उद्धारबारे भइरहेका कामबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।
गृहमन्त्री खाँणले मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुर्याएको सडक अवरोध र चितवनकै इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति उद्धार र राहत र सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन् ।
नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, म्याग्दीका प्रहरी प्रमुख नायब उपरीक्षक तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।
गएराति म्याग्दीको मालिका गाउँपालिका–२ रुममा माथिबाट झरेको पहिरोले घामबहादुर बि।क।सहित दुई जनाको घर बगाउँदा बिक उनकी श्रीमती, दुई छोरा र एक छोरीसहित ७ जना बेपत्ता भएका थिए । ती मध्ये दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको, दुई जनाको शव फेला परेको र बाँकी अझै बेपत्ता रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए ।
पहिरो गएको स्थान सदरमुकामबाट साढे तीन घण्टा पैदल दूरीमा पर्ने विकट स्थानमा रहेको उनले बताए । घाइतेलाई उद्धार गर्ने र बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए ।
यता नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगर–२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लेदो बगिरहेकाले तत्काल अवरुद्ध सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए ।
मुग्लिङ–नारायणगढ सडकखण्डकै २० किलो र २१ किलो भन्ने स्थानमा पनि पहिरो गएको उनले बताए । अहिले नारायणगढ तर्फबाट जुगेडीमा सवारी साधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म ल्याउने कार्य भइरहेको प्रजिअ तामारूले बताए । सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले रुट परिवर्तन गर्न सूचना जारी गरिएको पनि उनले बताए ।




