भक्तपुर । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको बताएका छन् ।
आज (शनिबार) भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’ मा उनले यस्तो बताएका हुन् ।हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै उनले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्यका लागि युवाले अभियान नै संचालन गर्नुपर्ने बताएका छन् ।
युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरे पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँको निर्वाचनमा देखिएको सभामुख सापकोटाले स्मरण गराए ।
‘सबभन्दा डर लाग्दो कुरा त तपाईहरुले पनि थाहा पाईराख्नु भएको छ । यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनि साध्य छैन । असल, इमान्दार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ’, उनले भने ।




