काठमाडौ । ३७ दिनदेखी बेपत्ता सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको छ ।
लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव त्यहाँ गाडेर ढलान गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
जेठ २० गते देखि हराइरहेकी सुजिताको शव आइतबार बिहान करिब १० बजे फेला परेको हो। प्रहरीले मध्यराति ती महिलालाई सो स्थानमा गाडिएको हुनसक्ने भन्ने सूचना पाएको थियो। हराएको केही दिनसम्म पनि सम्पर्कमा नआएपछि उनका आमा-बुवाले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले हत्या आरोपमा उनका श्रीमान, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सुजिताको हत्या घरायसी विवादकै कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको कसरी हत्या गरियो भन्ने बारेमा अहिले खुलिनसकेको प्रहरीले बताएको छ। शव पोष्टमार्टमको लागी लैजाने तयारी भइरहेको छ ।




