काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रप्रति निष्ठा नभएको व्यक्तिका रुपमा चित्रण गरेका छन् । सोमबार काठमाडौँमा प्रतिनिधि सभा विघटनका विरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन मात्रै खोजेनन उनले गणतन्त्रलाई नै सिध्याउने कोसिस गरेको भन्दै उनी गणतन्त्रप्रति इमानदार नभएको बताएका हुन् । अध्यक्ष नेपालले ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताए ।
प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेसिता र धर्मनिरपेक्षता प्रति कुनै अपनत्व नभएको उनको भनाई छ । अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको पनि बताए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफुतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताए । अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचन सम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको बताए । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उनले जिकिर गरे ।प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको अध्यक्ष नेपालले बताए । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो ।




