असोज २५गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहिबार तयार पारिएको मुख्य १० समाचारमा इजरायलबाट २५३ जना नेपाली नेपाल फर्किदै देखी चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए सम्माका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
इजरायलबाट २५३ जना नेपाली नेपाल फर्किदै
काठमाडौँ । इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन त्यसतर्फ गएको नेपाल एयरलाइन्सले २५३ जनालाई लिएर तेलअभिभबाट उडेको छ । विहिबार बिहान परराष्ट्रमन्त्री एनपी साउदसहित तेलअभिभ पुगेको नेपाल एयरलाइन्सको विमानबाट २५३ जना फर्किन लागेका हुन् । यो विमान काठमाडौँमा राति ९ बजेसम्म आइपुग्ने छ ।
इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ र आजको विमानबाट २५३ जना फर्किएका छन् । अहिलेसम्म दुताबासमा करिब ४०० जनाले नेपाल फर्किने चाहाना व्यक्त गरेका छन् । सरकारले इजरायलबाट नेपाल फर्किन चाहनेहरुलाई चार्टर विमान नभए अन्य विमानबाट आउदाको टिकट खर्च बेहोरिदिने निर्णय गरको छ । इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ । इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत थिए । जस मध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको छ भने एक जना सम्पर्कविहिन रहेका छन् ।
सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न समिति गठन
आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको हो । ‘मेरो संयोजकत्वमा सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राईको वार्ता टोली गठन भएको छ,’ भट्टराईले भने ।
वार्तका लागि आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति र कर्मचारी ट्रेड युनियनहरुका बढीमा ५÷५ जना प्रतिनिधि बस्न पाउनेगरी वार्ता टोलीले तयारी गरेको भट्टराईले बताए । निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नभएको भन्दै असोज १५ गतेदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीहरुले १९ गतेदेखि पेन डाउन गरेका छन् ।
कोशीको मुख्यमन्त्रीमा आङ्बो र कार्कीको दाबी, कांग्रेस विभाजित
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।
कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । आङबोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
यता एमालेको समर्थनमा कांग्रेस संसद केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्। जसमा कांग्रेसका रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङको समर्थन छ । एमालेले उपसभामुखबाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ।
रिगललाई आममाफीविरुद्ध भारती मानन्धरले हालेको मुद्दा हेर्दाहेर्दैमा
रिगल अर्थात् योगराज ढकाललाई आममाफीविरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भारती शेर्पा मानन्धरले हालेको यस प्रकारको मुद्दा पहिले पनि इजलासमा हेरेको भन्दै हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ कात्तिक १४ मा हुने भएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको पूर्ण इजलासमा सुनुवाइ भएको हो । यसअघि न्यायाधीश मनोज शर्माको इजलासले रिगललाई आममाफी दिने सरकारी निर्णयको सम्पूर्ण कागजपत्र मगाउने र महान्यायाधीवक्ता दीनमणि पोखरेललाई जवाफ दिन आदेश दिएको थियो ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले दिए राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् । प्रदेश गठनका बारेमा विवाद बढेपछि उनले बिहिबार कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् । उनले बिहिबार बाटै उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएपछि आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताए ।
प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्ष स्यान्डर्सबीच भेटवार्ता
बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ।लण्डनस्थित बेलायती सेनाको मुख्यालयमा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ। भेटघाटको दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने कुरा बताएको नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदारको पनि उपस्थिति रहेको थियो।
काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते,
दुईजना काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर बिहीबार लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनले भने, ‘लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।’ घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसैगरी उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरुको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताए ।
‘लुटेरा’को समूहले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको पाइएको छ।
उनीहरुले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको सूचना हामीले पाएका पिछा गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक –एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
अनुसन्धान अधिकृतको शैक्षिक प्रमाणपत्र नै नक्कली
राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो। शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्रका आधारमा सहायक निरीक्षक पदमा नियुक्ति र पछि बढुवा भएको ठहर गर्दै अख्तियारले उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। क्षेत्रीको प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेकोमा प्रमाणपत्र नक्कली पाइएको हो।
अनुसन्धान हुँदा क्षेत्रीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। उनले सोही प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा सुरुमा नियुक्ति भइ वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भइ सरकारी लाभ तथा सुविधा लिएको ठहर अख्तियारको छ।
क्षेत्रीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदाबी अख्तियारले गरेको छ।
मतदाता नामावली दर्ता सम्बन्धमा कात्तिक मसान्तभित्र सुझाव पठाउन अनुरोध
निर्वाचन आयोगले विदेशमा रहेका ‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ कस्यौदा तयार भएको हुँदा यसमा सुझाव पठाउन अनुरोध गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिगम शर्मा पौडेलका अनुसार विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावली दर्ता गर्ने व्यवस्था सो कार्यविधिमा रहेको जानकारी दिए ।
उनका अनुसार विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्नेछन् । विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली संघ तथा अन्य सरोकारवालालाई २०८० कात्तिक मसान्तभित्र सो मस्यौदामा सुझाव दिन आयोगले अनुरोध गरेको छ।
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बाँके, सर्लाही, इलाम र दोलखाका सिडिओ फेरिएका हुन्। बाँकेमा श्रवणकुमार पोखरेल, सर्लाहीमा कोमलप्रसाद धमला, इलाममा इन्द्रदेव यादव र दोलखामा टुवराज पोखरेललाई पठाइएको छ। पोखरेल यसअघि इलाममा, धमला दोलखा र यादव सर्लाहीमा सिडिओका रूपमा कार्यरत थिए। दोलखामा पठाइएका सहसचिव पोखरेल गृह मन्त्रालयमा कार्यरत थिए। बाँकेका सिडिओ विपिन आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।




