मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज २२ गते सोमबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा इजरायलको दक्षिणी क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार देखी लुम्बिनी अर्थमन्त्री मास्कि सवार गाडी दुर्घटनासम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

इजरायलको दक्षिणी क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ । उनीहरुलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको सो समुहमा रहेका विद्यार्थी लुइस रिजालले जानकरी दिएका हुन् । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । ‘बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ’ रिजालले भने, ‘अलग अलग क्याम्पबाट उद्धार गरिएको हो।’ अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताएका छन् ।उनीहरुले अहिले सुरक्षित महसुस गरेको र सरकारले छिटो नेपाल फर्काउने व्यवस्था गर्न आग्रह समेत गरेका छन् ।इजरायलस्थित नेपाली दुताबासको पहलमा इजरायली सेनाले उनीहरुको उद्धार गरेको हो । दुताबासले उनीहरुलाई तेलअभिभमा ल्याउने बताएको छ ।

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक घोषणा

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई सरकारले १०÷१० लाख राहत दिने निर्णय पनि गरेको छ ।बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो । यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न दूतावासलाई स्वीकृति दिने निर्णय पनि भएको छ । यस्तै नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

हमासको आक्रमणमा अहिलेसम्म ७०० भन्दा बढी इजरायलीको मृत्यु भएको छ भने थाइल्याण्डका १२ र १० नेपाली नागरिकसहित २४ विदेशी नागरिकको मृत्यु भएको जनाइएको छ । त्यसैगरी इजरायलको आक्रमणमा अहिलेसम्म गाजापट्टीमा ४०० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

इजरायलबाट नागरिकका शव ल्याउन जहाज तयारी अवस्थामा

सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ। इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ। नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो। संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ।

नयाँ बसपार्कमा टिकट लिनेहरूको भीड

संसरकारले दसैँ, तिहार तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने

इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई प्रति विद्यार्थी राहत स्वरुप दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

‘नेपालबाट (लर्न एन्ड अर्न) कार्यक्रम अन्तरगत इजरायलमा विद्रोही समूहको आक्रमणबाट दिवंगत हुनुभएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रति विद्यार्थी राहत स्वरुप रू. २ लाख उपलब्ध गराइनेछ ।’ विज्ञप्तिमा भनिएको छ । साथै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन, घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण र नेपाल फर्कन इच्छुक नेपाली तथा निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागि सरकारलाई आग्रह गरेका छन् । कामसँगै अध्ययनका लागि इजरायल गएका १० नेपाली विद्यार्थीको आक्रमणमा परी मृत्यु भएको छ । जसमा सुदूरपश्चिमका मात्रै सात जना छन् ।

कर्णाली प्रदेश निजामती विधेयक सर्वसम्मत पारित

कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत रूपले पारित भएको छ । सोमबार बसेको प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको हो ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को उपनियम २ को खण्ड ‘क’ बमोजिम प्रदेश मामिला समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख नन्दा गुरुङ्गले विधेयक पारित गरियोस्, भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो विधेयक पारित भएसँगै कर्णाली प्रदेशको आफ्नो छुट्टै कर्मचारी ऐन बनेको छ।

चीनको सिशापाङ हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तेञ्जेन शेर्पा बेपत्ता

चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता भएका छन् । विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिशापाङ हिमालमा गत शनिबार गएको हिमपहिरोमा उनीसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यही असोज २० गते गएको हिमपहिरोमा परी दुवैको अवस्था हालसम्म अज्ञात रहेको जनाएको छ । उक्त हिमपहिरोमा परी कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामा र कामिरीता शेर्पा गम्भीररुपमा घाइते भएका जानकारी प्राप्त भएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हराइरहेकाको खोज तथा उद्धारका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको र केहीलाई उद्धार गरी उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त एवम् विश्व रेकर्ड राख्न सफल आरोही र शेर्पाको मृत्यु भएको तथा अज्ञात अवस्थाको खबरले मन्त्रालय र सिङ्गो पर्वतारोहण क्षेत्र स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल पर्वतारोहण संघ र नेपाली पर्वतारोहण सञ्चालक कम्पनीका अनुसार असोज २० गते बिहान करिब ११ बजे आरोही गाइड मिमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटुको हिमपहिरोका कारण बेपत्ता भएकामा सोही दिन दुवै जनाको मृत शरीर भेटिएको मन्त्रालयले जनाएको छ ।

कैँदी आदानप्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास

कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले जनाएको छ । “अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला (युद्धवन्दी) को रिहाइ गरिएमा हमासद्वारा कक्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको छ,” नाम नबताउने शर्तमा स्रोतले सिन्ह्वालाई भन्यो ।

स्रोतले इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ । हमासले शनिबार गाजा पट्टीसँग जोडिएको इजरायली शहरमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो ।

आक्रमणका क्रममा हमासका लडाकुले गाजा पट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी महिलासहित इजरायली नागरिकको हत्या र कब्जा गरेका थिए । गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४१३ पुगेको छ भने दुई हजार ३०० भन्दा बढी घाइते भएका छन् । त्यसैगरी इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारले इजरायलमा मृत्यु हुनेको सङ्ख्या ७०० पुगेको जनाएको छ ।

दुर्गा प्रसाईमाथि होटलमै दलियो मोसो

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई काठमाडौंमै मोसो दलिएको छ । सोमबार कान्तिपथस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंलाई मोसो दलेका हुन् ।

बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै गणतन्त्रवादी युवा दस्ताले प्रसाईंलाई मोसो दलेको बताइन्छ । प्रसाईले सोमबार एलोप्यागोडा होटलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि मोसो दलिएको हो । मोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्री वस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए ।

लुम्बिनी अर्थमन्त्री मास्कि सवार गाडी दुर्घटना

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दुर्घटनामा परेको छ । सडकमा एक्कासी आएको बच्चालाई चालकले बचाउन खोज्दा दुर्घटना भएको अर्थमन्त्रीका प्रेस सल्लाहकार दीपक बोहोराले जानकारी दिए ।

लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा गाडी दुर्घटनामा परेको हो । सडकमा एक्कासी बच्चा आएपछि बचाउने क्रममा गाडी सडक छेउको नालामा पुगेको हो। बोहराका अनुसार गाडीमा भएकाहरूलाई सामान्य चोटपटक लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *