भदौ १० गते आइतबार संकल्प खबरले दिनभरि देशभरीमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचाररमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा ललितानिवास जग्गा प्रकरणमा मुद्दामा २९० जनालाई प्रतिवादीदेखी खेलकुदमन्त्री डिगबहादुर लिम्बू वीर अस्पताल भर्नासम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस सोमबारका मुख्य १० समाचार
ललितानिवास जग्गा प्रकरणमा मुद्दामा २९० जनालाई प्रतिवादी
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयले लगेको मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको मुद्दामा २९० जनालाई प्रतिवादी बनाइएको छ । जसमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाहलगायत छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ । मन्त्रिपरिषद्बाट निर्णय गरेर सकारी जग्गा निजी भनी बिक्रि गरिएकोमा निजी भनेर प्रमाणीत गर्न किर्ने काम गर्ने, हुँदै नभएको संगठीतका नाममा जग्गा राखेर मुआब्जा बाँड्दै जग्गा बिक्रि गर्नेसहित जग्गा खरिद गर्नेसम्मलाई प्रतिवादी बनाइएको छ ।
नौं संसदीय समितिको सभापति निर्बिरोध निर्वाचित
प्रतिनिधिसभा अन्तर्गतका ९ संसदीय समितिको सभापति निर्बिरोध निर्वाचित भएका छन् ।आइतबार भएको उम्मेदवारी दर्तामा ९ समितिको सभापतिमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् ।त्यस्तै एक उद्योग समितिमा सत्ता गठबन्धनबाट जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुली उम्मेदवार बनेपछि यस समितिको निर्वाचन सोमबार हुने भएको छ ।
निर्बिरोध निर्वाचित हुनेमा कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा रहेका छन् । त्यस्तै नेकपा एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साह निर्बिरोध निर्वाचित भएका छन् ।
तीनै तहका सरकार सञ्चालनका लागि आवश्यक कानून बनाउनुपर्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनै तहका सरकारलाई सहज रुपमा सञ्चालन गर्नका लागि आवश्यक कानून बनाउनुपर्ने बताएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित माल्यार्पण कार्यक्रममा नेता हिले संघले आवश्यक कानूनहरु निर्माण गरे स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गरे ।
उनले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए । उनले सरकार र सबै राजनीतिक दलहरुले यसबारे गम्भीर भएर सोच्नुपर्ने बताए ।त्यस्तै उनले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताए ।
भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट लागू गर्ने– प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।
“पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौँ जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ”, प्रधानन्यायाधीश श्रेष्ठले भने । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उनले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताए ।
उनले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ, न्यायाधीशको सङ्ख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ”, प्रधानन्यायाधीश श्रेष्ठले थपे, “सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु
त्यसैगरी जनता समाजवादी पार्टीबाट राजकिशोर साह अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा, एकीकृत समाजवादीबाट भानुभक्त जोशी शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा निबिरोध निर्वाचित भएका छन् ।त्यस्तै नेकपा माओवादी केन्द्रबाट विमला सुवेदी कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डाबाट दीपक सिंह पूर्वाधार विकास समितिको सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसले भोली पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले तीन दिन वीपी साहित्य महोत्सवका रुपमा मनाउने भएको छ । कांग्रेसले जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्म दिन भाद्र २४ लाई नेपाली कांग्रेसले हरेक वर्ष बी.पी. जन्म जयन्तीका रुपमा मनाउँदै आएको छ ।
यस वर्ष पनि कांगे्रसले जननायक वीपी कोइरालाको ११० औं जन्म जयन्तीलाई भाद्र २४, २५ र २६ गते वीपी साहित्य महोत्सवका रुपमा मनाउने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सोही जानकारीका लागि नेपाली कांग्रेसले भाद्र ११ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा दिनको १ बजे पत्रकार सम्मेलन गर्ने भएकाले सम्पूर्ण संचारकर्मीहरुलाई सो कार्यक्रमको समाचार संकलन र सम्प्रशेनका लागि उपस्थित हुन आग्रह गरेको छ ।
समृद्धि र सुशासनको यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नभएको बताएका छन् ।
आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडि बढेको भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन् ।
‘सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्य हाम्रो नयाँ सरकारले भनेको छ र त्यसमा अगाडि बढ्दै छ, त्यसमा सबै प्रदेशहरूको पनि सहयोग अझै राम्रोसँग हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु,’ उनले भने, ‘हामीलाई स्थिरता स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प नेपालीहरूको अगाडि छैन ।’ उनले संघीय मन्त्रीहरूको क्वाटर पनि केही महिनाभित्रमा टुङ्गिने जानकारी दिए ।
कांग्रेस अनुशासन समितिको कार्यविधि संशोधनसहित पारित
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०८० लाई संशोधनसहित पारित गर्ने निर्णय गरेको छ। आइतबार अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा बसेको बैठकले कार्यविधि संशोधनसहित पारित गरेको हो। बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम के.सी.लाई मनोनयन गर्ने निर्णय गरेको छ। सचिव के.सी.का अनुसार समितिको अर्को बैठक सोमबार बिहान ८ बजे बस्नेछ।
बेपत्ता छानबिन र मेलमिलाप आयोगका कार्यावधि थपसम्बन्धी आदेश पेस
राष्ट्रियसभामा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको कार्यावधि थप गर्नेसम्बन्धी आदेश पेस भएको छ ।सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेमिलाप आयोगको कार्यावधि थपसम्बन्धी मन्त्रिपरिषद्को निर्णयअनुसार आदेश पेस गरेका हुन् ।
मन्त्री गुरुङले ती आयोगबाट सम्पादन हुनुपर्ने शान्ति प्रक्रियाका काम बाँकी रहेकाले गत असार १९ गतेको निर्णयबाट आगमी पुस मसान्तसम्म कार्यावधि थप गर्ने गरी आदेश जारी भएको जानकारी गराए । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गरी सदनमा पेस गरेको हो ।
आईओईले शुल्क वृद्धि गरेपछि नेविसंघद्वारा प्रधानमन्त्री निवास घेराउ
सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ ।त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्था (आईओई)ले चार वर्षे स्नातक तहको शुल्क बढाएको विरोधमा नेविसंघले आन्दोलन गरेको हो । आईओईले एकैपटक तीन लाख रुपैयाँ शुल्क वृद्धि गरेको थियो ।यसअघि आइतबार एमाले निकट अनेरास्ववियुले मन्त्री क्वाटर बाहिर मन्त्रीहरूको गाडी रोकेर प्रदर्शन गरेको थियो ।
खेलकुदमन्त्री डिगबहादुर लिम्बू वीर अस्पताल भर्ना
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण भएको छ ।
शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु संक्रमण देखिएपछि उपचारका लागि शनिबार मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रोशन राईले जानकारी दिए । मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए ।वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा.ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।




