ताजा समाचार

कम्युनिष्टहरुसंगको सहकार्य आत्मघाती पुष्टि हुदैछ

कम्युनिष्टहरुले लोकतन्त्रवादीहरुलाई सबैभन्दा ठूलो दुस्मन ठान्छन/मान्दछन भन्ने दृष्टिकोण,मान्यता र दर्शन नेपालको सन्दर्भमा पनि सत्य सावित हुँदैछ । पूर्वाग्रह र प्रतिशोधका थुप्रै घटनाक्रम नेपाली राजनीतिले सुरक्षित राखेकै समयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्तिप्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाले ठूला ठूला हिंसात्मक एवं ध्वंसात्मक आक्रमण गर्न भन्नु हुन्थ्यो भनी जनयुद्ध दिवस मनाइएको समारोहमा व्यक्त गरेको अभिमत अप्रजातान्त्रिक, गैरजिम्मेवार मात्र होइन मर्यादाहीन र भ्रामक पनि छ । लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका मूर्धन्य नेतृत्वलाई समेत हिंसा र ध्वंसको विल्ला भिराएर आफूलाई सान्दर्भिक,उपयुक्त र सही सावित गर्ने कुचेष्टाले दाहालमा सामान्य राजनीतिक संस्कारको समेत अभाव खड्कीएको छ । दिवंगत नेताप्रति व्यक्त धारणाले उनको असहिष्णु,अस्थिर एवं अविश्वसनीय चरित्र एकपटक पुन प्रकट भएको छ । एमालेमा पार्टी विलय गराएपस्चात दाहालले शान्तिप्रक्रियामा प्राप्त भएको सहयोग र तत्कालिन समयमा एमाले बराबरको हैसियत दिएको गुन विर्सिएका छन् । त्यतिमात्र होइन, नेपाली कांग्रेस तथा सभापतिका रुपमा गिरिजाप्रसाद कोइरालाको साथ सहयोग र समर्थन नभएको भए नेपालमा न त गणतन्त्र आउथ्यो न माओवादीहरु सत्ताको भर्‍याङमा नै चढ्न पाउँथे ।

वीपी कोइरालाले त्यसै कम्युनिष्टहरुसंग मिलेर जानु आत्मघाती हुन्छ भनेका रहेनछन । विश्व कम्युनिष्ट आन्दोलन र उनीहरुको चरित्र एवं स्वभावसंग परिचित वीपीले व्यक्त गरेको उक्त विचार आज सान्दर्भिक भएको छ । कम्युनिष्टहरु संगको सहकार्य आत्मघाती नै भएको छ कांग्रेका लागि । कांग्रेसका लागि आत्मघाति भएर देशको हितमा भएको भए त्यसलाई स्वभाविक पनि मान्न सकिन्थ्यो । तर त्यसो नभएर देश,लोकतन्त्र र नेपाली कांग्रेसका लागि समेत कम्युनिष्टहरु संगको सहयात्रा र सहकार्य आत्मघाती एवं प्रत्युत्पादक भएको छ । यस विषयमा कांग्रेस पार्टीले विश्लेषण गर्दै जाला ! कुन समयमा आफूमाथि प्रहार हुन्छ, त्यस बेला मात्र महशुस गर्ने नेतृत्व भएको समयमा इतिहासमा भएको घटनाक्रमहरुको उपयुक्त, यथार्थ र गम्भीर आवस्यकता र विश्लेषणको अपेक्षा राख्नु नै गलत हुनेछ। यथार्थ के हो भने नेपालका कम्युनिष्टहरु आवस्यकतामा सियो बनेर पस्ने र उपयुक्ततामा मुसल भएर निस्कने स्वभाव र चरित्रका रहेको वास्तविकता अब कसैबाट छिपेको छैन । कांग्रेस नेतृत्वले त यसलाई सच्याउन नसक्ला तर राजनीतिक इतिहासले यि र यस्तालाई महत्वपूर्ण घटनाक्रमहरुको यथार्थ रुप र चित्र उतार्ने नै छ । को,को कुन, कुन समयमा कहाँ कहाँ, क कसरी चुके र झुके जसको कारण मुलुकले दुर्दशा बेहोर्नु पर्‍यो भन्ने सत्य तथ्य बाहिरिएको दिन आम नागरिकले जानकारी लिएर निर्णयक कदम चाल्नेछन् । अख्तियारको बक्रदृष्टि एवं गिरिजाप्रसाद कोइरालाको तेजोवध गर्ने कार्य यि नै घटनासंग सम्वन्धित छन् । आखिर सर्पलाई दुध खुवाएर पाल्दा हुने यस्तै नै हो ।
जनताले अभिमत दिएका कारणले कम्युनिष्ट सरकारका अलोकतान्त्रिक, विवादास्पद एवं कतिपय हास्यास्पद निर्णय र गतिविधिकाप्रति नागरिकको स्तरबाट असहमती, आक्रोश अनी असन्तुष्टि सार्वजनिक हुन स्वभाविक हो । तर राजनीतिशास्त्रको विद्यार्थीको नजरमा देश र लोकतन्त्र कमजोर हुनको कारण नेपाली कांग्रेसको शासकीय असक्षमता नै हो । नेपाली जनताले कम्युनिष्टहरुलाई पत्याएकै होइनन,त्यो संभव नै थिएन । नेपाली कांग्रेसलाई विश्वास गरेका छन, पत्याएका हुन । जनताको मत र भावनाको कदर गरी शासकीय व्यवस्थापन गर्न नसकेकाले देश कम्युनिष्टहरुको पोल्टमा गएको हो । त्यसैले गर्दा असन्तुष्टि कांग्रेससंग हुँनु स्वभाविक छ । लोकतान्त्रिक मूल्य पद्धतिलाई स्थापित गर्न सक्ने नेतृत्व विकासमा समेत पार्टी नेतृत्व इमान्दार नभएकाले आगामी दिनहरु अझ बढी कष्टकर हुने अवस्था देखिन्छ । असहज र अस्वभाविक लाग्ने घटना अझ पनि घट्न सक्छन । जसरी मन्त्रिपरिषदको निर्णय गराउने कम्युनिष्ट प्रधानमन्त्रीहरु, मन्त्रीहरु,कम्युनिष्ट पार्टीका नेताहरुले उन्मुक्ति पाए र कांग्रेस समर्थित व्यक्तिहरु तथा सत्तासंग असहमत कम्युनिष्टहरु अख्तियारको झमेलामा परेका छन् । जसरी हिंसा र विध्वंशलाई जायज र वैधानिक बनाउन दिवंगत कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई बदनाम गराइदै छ, त्यसैगरी कांग्रेसलाई कमजोर र वद्नाम गराएर जनताको अपार समर्थन, सहयोग र संलग्नतामा पुर्नस्थापित र स्थापित भएको लोकतान्त्रिक शासन प्रणालीलाई असान्दर्भिक र कमजोर बनाउदै लगिनेछ ।
वस्तावमा कम्युनिष्टहरु राम्रो शासन गर्न सक्दैनन् भन्ने प्रमाणित तथ्य नै हो । नेपालमा शासन व्यवस्था र कम्युनियट सिद्धान्त मेल नै खादैन । व्यवस्थापनको प्रभावकारी व्यवस्थापनका लागि इमान्दार लोकतन्त्रवादी हुन आवस्यक छ । जनतालाई लोकतान्त्रिक हु पनि भन्ने कम्युनिष्ट सदस्यता र पार्टीको नाउमात्र हो भनी पश्चिमाहरुलाई स्पष्टिकरण दिदै हिड्ने तर व्यवहारमा कम्युनिष्ट विद्यालय र पाठ्यक्रमको प्रभाव देखिने अन्तरविरोधपूर्ण अवस्थाले कार्यसम्पदनमा नै समस्या आएको छ । लागनीकर्ताहरु ढुक्क हुने वातावरण एकतर्फ छैन भने अर्को तर्फ नीति नै स्पष्ट छैन । खुल्ला एवं प्रतिश्पर्धात्मक वजार व्यवस्था माथि गर्न खोजिएको नियन्त्रणले लागनीकर्ताहरु निरुत्साहित भएका छन् । कम्युनिष्टहरुको सकरकार भनी प्रचार गर्ने अनि स्थिर नीति बनाउने सरकारी शैलीले बैदेशिक लागनी भित्रिन सकेको छैन । हेर र बसको नीति अवलम्वन गरिएको छ । जसको कारण खर्च गर्न सक्ने सामर्थ्य माथि नै प्रश्न चिन्ह लागेको छ । आधा वर्ष सकिदासम्म जम्माजम्मी १४ प्रतिशत पनि खर्च गर्न सरकारले सकेको छैन । यसले बलियो,स्थिर र दुईतिहाइ नजिकको समर्थन रहेको सरकारको कार्यक्षमता झल्किएको छ । उखान टुक्का, गफ, आरोप र प्रतिशोधले देशको नेतृत्व गर्न सकिदैन, हुँदैन भन्ने कुरा स्पष्ट भएको छ । ओली नेतृत्वमा रहेको नेकपाको सरकारले भन्दा बाँकी समुदाय र संसारले सरकारको कार्यक्षमता माथि गम्भीर अविश्वास र असन्तुष्टि प्रकट गरेको छ । वजेटको श्रोत जुटाउन नसक्ने एउटा अवस्था र भएको पनि खर्च गर्न नसक्ने अर्को अवस्थाले सरकारको सुखी नेपाली र संमृद्ध नेपालको नारा धरापमा परेको छ । यो नारा पनि रेल र पानीजहाज जस्तै हावादारी सावित भएको छ ।
कम्युनिष्टहरुको अलोकप्रियता एवं अविश्वसनीयता, लोभीपापीहरुको लोभलालच, महत्वकांक्षीहरुको एकता, ओलीको स्वास्थ्य, अन्तरपार्टी विग्रह,असन्तुष्टि, गुटगत राजनीति, शासकीय असफलता, जनताको आक्रोश एवं असन्तुष्टिजस्ता कारणले सरकार वदनाम, असफल,कमजोर हुदै गएर पाँच वर्ष चलाउन नसक्ने पनि होला । चलाईहाले पनि त्यसपछिको लोकतान्त्रिक नेपालको नेतृत्व वर्ग सक्षम छौ, हाम्रा कमीकमजोहरीहरुको बारेमा गम्भीर छलफल, विश्लेषण तथा अध्ययन भएको छ । त्यसका आधारमा आगामी कार्यदिशा तयार गरेका छौं भन्ने विश्वसनीय आधार बनाउन नसक्दासम्म जनताले विश्वास गर्ने छैनन् भन्ने हेक्का कांग्रेसले अझै राख्न सकेन भने त्यो भन्दा बढी कष्टकर दुर्दिन आउने छन र लोकतान्त्रिक जनमतले अझ आक्रोश एवं असन्तुष्टि पोख्ने छ भन्ने बोध कांग्रेसको नेतृत्वकांक्षीहरुले गरुन !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *