काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् शीर्ष नेताहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरहरूमा सर्वसाधारण प्रवेशमा कडाइ गरिएको छ।
बुढानिलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारीले गरेको तोडफोड र आगजनीपछि नेपाली सेना परिचालन गरिएको छ। घरलाई बाहिरबाट नदेखियोस् भन्ने उद्देश्यले जस्ताको पातले तारबारसमेत गरिएको छ। त्यहाँ रहेका कामदारका अनुसार, “अहिले कुनै पनि बाहिरी व्यक्तिलाई प्रवेश गर्न दिइएको छैन, जलेर बाँकी सामान मात्र सुरक्षित राखिएको छ।”
तर स्थानीयले भने सुरक्षाको नाममा आफन्त र कार्यकर्ताले घरभित्र पस्न दिएको छैन भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरुको आरोप छ – केही वस्तु लुटपाट वा कब्जा गर्ने लोभका कारण प्रवेश रोकिएको हो।
यसैबीच, ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पनि आफन्तले घरको गेट नै सिल गरी सर्वसाधारण प्रवेश बन्द गरिदिएका छन्।
जेनजी आन्दोलनको दोस्रो दिनैदेखि नेताहरुका जलेका घरतर्फ सर्वसाधारण आकर्षित भएका थिए। कतिपय मानिसले ‘सुनचाँदी वा अन्य मूल्यवान वस्तु पाइला कि’ भन्ने अपेक्षासहित तोडफोड भएका घर धाउने गरेको दृश्य सामाजिक सञ्जालमा अझै देखिन्छ।
यसरी, आन्दोलनपश्चात् शीर्ष नेताका निवास आज पनि घेराबन्दी र प्रवेश निषेधको प्रतीक बनेका छन्।




