
काठमाडौं । देशभर चर्किएको शिक्षक आन्दोलन र बढ्दो अन्योलको बीच प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा केही समयका लागि सार्न निर्देशन दिएका छन्।
बालुवाटारमा मंगलबार परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई भेट्दै प्रधानमन्त्री ओलीले अहिलेको संवेदनशील परिस्थिति ध्यानमा राखेर परीक्षा स्थगित गर्न आग्रह गरेका हुन्।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरिसकेको थियो र बोर्ड सबै संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने तयारीमा रहेको थियो। तर आन्दोलनरत शिक्षक महासंघको बहिष्कार, निजामती कर्मचारी युनियनको असहमति र विद्यालय कर्मचारीको चाबी आन्दोलनजस्ता कारणले स्थिति जटिल बनेपछि प्रधानमन्त्रीको यो निर्णय आएको हो।
बोर्ड अब बैठक बसेर नयाँ मिति तय गर्ने तयारीमा रहेको छ। केहीबेरमा औपचारिक सूचना सार्वजनिक गरिने बोर्ड स्रोतले जनाएको छ।