देश

बारा र चितवनमा सर्वदलीय बैठकको तयारी

काठमाडौं । बारा र चितवनमा आइतबार भएको उपनिर्वाचनको मतगणना हुन सकेको छैन । आज (सोमबार) बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गर्ने तयारी गरिएको बुझिएको छ ।

तनहुँमा आइतबार रातिबाटै मतगणना सुरु भए पनि बारा र चितवनमा सर्वदलीय बैठक बस्न नसक्दा गणनामा ढिलाइ भएको हो । बारा र चितवनमा सोमबार बिहान सर्वदलीय बैठक बसेपछि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । लामिछानेको उजुरीमाथि निर्णय नभई मतगणना गर्न नदिने नेपाली कांग्रेसको अडान छ ।

सबै मतपेटिकाहरू गणनास्थलमा ल्याइएपछि मतगणना स्थलमा सर्वदलीय बैठकको तयारी थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख उपस्थित नभएपछि कुनै निर्णय नगरी उम्मेदवारहरू एवं राजनीतिक दलका प्रतिनिधिहरु बाहिरिएका थिए ।

बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने र बैठकको निर्णयअनुसार मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *