काठमाडौं । तनहुँ क्षेत्र न. १ मा हुने उपनिर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउन कांग्रेसले तयारी थालेको छ । सो क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित भएपछि कांग्रेसले तयारी थालेको हो । पार्टी सभापति शेर बहादुर देउवालाई भेट्न गएका भट्टराईलाई एक जुट भएर निर्वाचनमा केन्द्रीत हुन देउवाले निर्देशन दिएका छन् ।
पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नवौं अध्यक्षमा निर्वाचित हुँदै १४ औं महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा भट्टराई विजयी भएका थिए । राष्ट्रपतिमा पौडेल विजयी हुँदा संविधान अनुसार पद स्वतः रिक्त हुने भएकाले आफुले पहिला जितेको क्षेत्र नगुमाउन कांग्रेसले अहिले देखि तयारी थालेको हो ।
आज बिहान सभापति देउवालाई भेटन् भट्टराई देउवा निवास पुगेका थिए । सो भेटमा देउवाले ढुक्क भएर टिकट पाउने भएकाले सो क्षेत्रमा हुने उपनिर्वाचनमा विजय हासिल गर्ने समिकरण बनाएर अगाडी बढ्न समेत निर्देशन दिएका थिए । भट्टराईलाई सभापति देउवाले भने,‘ टिकट पाउनु ठूलो कुरा होइन जित हासिल गर्ने कुरा महान भएकाले सोही अनुसार तयारीमा जुट्नुहोस्’ भन्ने निर्देशन सभापतिबाट प्राप्त भएको भट्टराईले उल्लेख गरेका छन् ।
गत मंसिर ४ मा सम्पन्न प्रनिनिधिसभा निर्वाचनमा पौडेल २५ हजार २६१ मतका साथ तनहुँ–१ बाट विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार एकबहादुर रानामगरले १९ हजार ९८१ ल्याउँदा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ प्राप्त गरेका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विनोदकुमार घर्तीले २ हजार ८८४ मत ल्याएका थिए ।




