अर्थ

तरलता नियन्त्रणमा राष्ट्र बैंक सक्रिय, ६० अर्बको निक्षेप संकलन निष्काशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २३ दिन अवधिको ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिने जनाएको छ। सोही दिन उपकरण निष्काशन गरिनेछ।

बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। बहुब्याजदरमा समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ भने ब्याजदर उल्लेख गर्दा दशमलव पछिका चार अंकसम्म राख्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको अवधि असार १९ गतेसम्म रहनेछ। सोही मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलदातालाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रोराटा आधारमा बाँडफाँड गरिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिमा निहित रहेको स्पष्ट पारेको छ। स्वीकृत भएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ।

साथै, स्वीकृत रकम बराबरको मौज्दात खातामा पर्याप्त रकम नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राखिने चेतावनी पनि दिइएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमा गरिएको लगानी सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। उक्त रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि तरलता अनुपात (एसएलआर) तथा वैधानिक तरलता व्यवस्थापनका लागि भने गणना गर्न सकिनेछ। भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानीको सुविधा नहुने पनि राष्ट्र बैंकले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *