काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र तिर्न निर्देशन दिएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार सुचना जारी गरेर बिगतमा लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकले महसुल बक्यौता निर्देशन दिएको हो । प्राधिकरणले तोकिएको समयअवधिभित्र नतिरे विद्युत् महसुल संकलन विनियमावलीमा भएको व्यवस्थाबमोजिम लाइन काटिने चेतावनी समेत दिएको छ ।
प्राधिकरणले २०७२ साउनदेखि २०७७ जेठसम्मको अर्थात लोडसेडिङ अन्त्य पछिको अवधिसम्मको बक्यौता र जरिवाना गरी करिब २० अर्ब तिर्न बाँकी रहेको छ । विगतमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत सप्लाई लिई सो वापतको विद्युत महसुल भुक्तानी गर्न बाँकी भएका सम्पूर्ण उपभोक्ताहरुलाई नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ को विनियम २७ (६) बमोजिम सम्वन्धित वितरण केन्द्रहरुबाट बक्यौता महसुल बुझाउन पटकरपटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाएको प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । आइतबार जारी गरेको सुचनामा प्राधिकरणले बक्यौता महसुल तिर्न विनियमावलीको विनियम २८ बमोजिम किस्ताबन्दीको सुविधा समेत प्राप्त गर्न सकिने उल्लेख छ ।
विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम निर्धारित समयमा महशुल नबुझाउनेलाई कारबाही गर्ने प्राधिकरणले जनाएको छ । विद्युत् महसुल संकलन विनियमावली, २०७८मा छुट बिलिङ्ग गरेकोमा उपभोक्ताले छुट बिल प्राप्त गरेको मितिले ७ दिनभित्र महसुल बुझाएमा बिल रकमको २ प्रतिशत छुट उपलब्ध हुने र छुट बिल प्राप्त भएको मितिले ८औं दिनबाट ६०औं दिनसम्म महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्ने पनि प्राधिकरणले जनाएको छ । दुई महिनासम्म विद्युत महशुल नबुझाएको अवस्थामा प्राधिकरणले नियम सम्बध नै लाइन काट्नेछ ।
उपभोक्ताले नियमबमोजिम विद्युत महशुल नबुझाउँदा दुबै पक्षलाई अफ्ठयारो पर्ने भएकाले तोकिएको समयमा उपभोक्ताले विद्युत महशुल बुझाउँदा यस्ता विभिन्न किसिमका झमेलामा फस्नु नपर्ने र जरिवाना लगाएत नियमअनुसारको दण्ड पनि उपभोक्ताले वेहोर्नुपर्देन् । यसरी कुनै पनि पक्षलाई असर नपार्नका लागि प्राधिकरणले तोकेको समयसिमाभित्र सबैले महशुल बुझाउँदा राम्रो हुन्छ ।




