काठमाडौं । भदौ १ गतेबाट लागू हुने गरी वाणिज्य बैंकहरुले नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले बिहीबार सार्वजनिक गरेको ब्याजदर तथ्यांकअनुसार अधिकांश बैंकको नयाँ ब्याजदर वृद्धि गरेका हुन् ।
भदौ १ बाट लागू हुने गरी १२ वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरुले आ–आफ्नो व्यावसायका लागि फरक फरक तरिकाले ब्याजदर बढाएका छन् । सबै बैंकको ब्याजदर भने समान छैन । बैंकहरुले निक्षेपको ब्याजदर औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने भएपछि विभिन्न बैंकहरुले फरक–फरक तरिकाले ब्याजवृद्धि गरेका हुन् ।
बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ भने केही बैंकले कम गराएका छन् । भदौ १ बाट लागू हुनेगरी चारवटा बैंकले ब्याजदर घटाएका छन् । यस्तै, चारवटा बैंकले साउन महिनाकै ब्याजदरलाई कायम राखेका छन् ।
ग्लोबल आईएमई बैंक, एनआइसी एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत ब्याजदर कायम गरेर सबैभन्दा बढी ब्याजदर कायम गरेका छन् । एनआइसी एसिया बैंकले साउनको तुलनामा ०.०३ प्रतिशतले ब्याजदर घटाएको छ । प्राइम कमर्सियल बैंकले साढे १० प्रतिशत ब्याजदर कायम गरेको छ ।






