काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर दिने निर्णय गर्नका लागि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
पुस २९ गते बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ बजे साधारणसभाको आह्वान गरेको हो । बैठक भने भर्चुअल माध्यमबाट हुनेछ ।
साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बैंकको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको एजेण्डा समेत पारित गर्नेछ ।
बोनस शेयर वितरणपछि पूँजी बृद्धि हुने र त्यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यसबाहेक कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीको विषयमा पनि सभामा छलफल हुनेछ ।
बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको छ ।




