जेनजी आन्दोलन केवल राजनीतिक प्रतिरोध थिएन—यो दशकौँदेखि नेपाली समाजको चेतना, असन्तोष, घाउ र निराशाको सामूहिक विस्फोट थियो। भदौ २३ र २४ मा देखिएको हिंसा, अस्थिरता र मनोवैज्ञानिक आघातले एउटा यथार्थ उजागर गरिदियो—देशको मानसिक स्वास्थ्य राजनीतिक अस्थिरताभन्दा पनि धेरै विस्फोटक अवस्थाबाट गुज्रिरहेको रहेछ । आज, आन्दोलन सकिएको ,सम्झौताहरु भएका र सरकार फेरिएको छ। तर मनोविज्ञान अझै उस्तै–उस्तै छ—तनावग्रस्त, अविश्वासी, विभाजित र असन्तुलित। त्यसैले जेनजी आन्दोलन केवल राजनीतिक अध्याय होइन—सामाजिक मनोविज्ञान, राजनीतिक चेतना र मानवीय अस्थिरताको समग्र प्रतिविम्ब हो। राजनीतिक दलहरुमा धेरै किसिमका विचारहरु पैदा भएका छन्,देशमा बढेको खतरा कसरी रोक्ने र संवैधानिक पद्धतिबाट देशलाई कसरी शान्तिपूर्ण वातावरणमा फर्काउने, निर्वाचनमा कसरी बिजय हासिल गर्ने, विचारहरुको विश्वसलाई कसरी स्थापित गर्ने यस्तै कयौँ । नागरिक समाजलाई देशले कसरी छिट्टै मुहार फेर्ने, नागरिकको ज्यु धनको सुरक्षा राज्यले कसरी गर्ला,रोजगारी,विकास निर्माण र सुशासन र पारदर्शिता कसरी व्यवहारिकतामा पैदा हुने । समयमा निर्वाच हुने हो की होइन्, निर्वाचनको वातावरण कस्तो बन्ला?
जेनजी आन्दोलनको मूलभूत कारण तत्काल देखिएको राजनीतिक निर्णय थिएन। देशमा पहिलेदेखिनै थुप्रै समस्याहरुले भरिएको थियो—बेरोजगारीको पीडा, भ्रष्टाचारको चरम विकृति, दलीय भागबण्डाको नाङ्गो खेल,भविष्यविहीन युवाको निराशा,राज्यसँगको गहिरो अविश्वास यी सबै दबिएका भावना थिए।आन्दोलनले केवल ट्रिगर दियो। युवाहरू सडकमा केवल माग लिएर होइन,आत्मिक गुहार र अस्तित्ववादी चिच्याहट लिएर उत्रिएका थिए।
यसले समाजलाई मनोवैज्ञानिक रूपमा दुई धारमा च्यात्यो—एक पक्षले यो न्यायिक विद्रोह भनेर स्वागत गर्यो,अर्को पक्षले राष्ट्रलाई जोखिममा पार्ने अराजकता ठान्यो, यसरी सामूहिक भावनात्मक सन्तुलन एकैपटक भत्कियो। अहिले मान्छे,मान्छेबिच पनि विभेद सुरु भएको छ। नयाँ र पुराना मान्छे । विचार पुरानो हुँदैन्,मान्छे जति पुरानो वृद्ध हुँदै गयो,त्यति विचार,अनुभव र विश्लेषनात्मक क्षमता पनि वृद्धि हुँदै जान्छन् । एकले अर्कालाई स्वागत र सत्कार गर्न जरुरी छ । मानिसहरुमा बोल्दा,क्रियाकलाप गर्दा,निर्णय गर्दा होस या नेतृत्व गर्दा हजारौँ गल्ति कम्जोरीहरु हुन्छन्, तर त्यसलाई सुधार्ने र आत्माआलोचना गर्ने विषयमा कसैले पनि घमण्ड देखाउनु हुँदैन् । तर मानिसलाई ज्यूँदै मार्ने,हत्याहिंशा गर्ने, आतंक मच्चाउने जस्ता गतिविधि रोक्ने अभ्यासमा सबै लागि पर्नु नै पर्छ ।
आन्दोलनको वास्तविक प्रभाव सडकमा होइन—मानिसहरूको मस्तिष्कमा पार्यो। सामाजिक मिडियामा फैलिएका—कुटपिटका दृश्य,आगजनी,भीडको उग्रता,सुरक्षा निकायसँगको भिडन्त, नेताहरूलाई लक्षित हमलाका तस्बिर,कोही नायक, कोही देशद्रोही बनाउने प्रवाह यी सबैले मानिसको लिम्बिक सिस्टम (भावनात्मक मस्तिष्क) उत्तेजित पारेको छ । जहाँ एकको आक्रोश, डर र द्वेष दोस्रोमा सर्छ, अनि तेस्रोमा, राष्ट्र एकैपटक मानसिक तनावको महामारीमा फस्छ। विशेषगरी युवा तथा नागरिकहरुमा चिन्ता, निराशा, भविष्यप्रतिको भय,आक्रोश तीव्र ध्रुवीकरण अभूतपूर्व स्तरमा बढेको छ। राजनीतिक नेतृत्वप्रति भरोसा समाजको मानसिक मेरुदण्ड हो।जब त्यो भाँचिन्छ, समाज एकैपटक दिशाविहीन हुन्छ। जेनजी आन्दोलनपछि— नेताको भाषणलाई विश्वास गर्ने मानिस घटे,सरकारलाई समाधान होइन, समस्या ठान्ने सोच बढ्यो ,राजनीतिक दलहरूप्रति आक्रोश तीव्र बन्यो ,नयाँ नेतृत्व खोज्ने मनोविज्ञान चरममा पुग्यो । यही अविश्वासले सामाजिक स्थिरता र मानसिक सुरक्षाबिचको दुरी लम्ब्याएको छ ।
पछिल्लो समय परिवारदेखि क्याम्पस र पेशासम्म—मनोवैज्ञानिक असर गहिरिँदै गएको छ । जेनजी आन्दोलनको मानसिक प्रभाव सडकभन्दा गहिरो छ। जेनजी आन्दोलनपछि परिवारभित्र पीढीगत दूरी, अभिभावकले आन्दोलनलाई जोखिम ठाने,युवाले न्यायिक अधिकारको स्वर ठाने,यसो हुँदा मौन मनोवैज्ञानिक दूरी बढ्दै गएकाे छ । शैक्षिक क्षेत्रमा समेत सो आन्दोलनको असर परेको छ । जेनजी आन्दोलनपछि राजनीतिक दल र अन्तरिम सरकारबीच बढेको मतभेद र युवाहरुको आक्रोसका कारण कुन बेला देशमा कस्ता अप्रिय घट्ना घट्ने हुन् भन्ने संका पैदा गरेको छ । देशको राजनैतिक अस्थिरताका कारण समयमा परिक्षा हुने वा नहुने अन्यौलता समेत छाएको छ भने विद्यार्थीहरुमा अध्यनसिलताको कमी भएको छ । जेनजी आन्दोलनको असर विद्यार्थी,बालबालिका,शिक्षक सबैमा परेको छ । सो आन्दोलनका कारण सबै नागरिकहरु विगतमा जस्तो विश्वस्त छैनन् । विद्यार्थीहरू—तनावग्रस्त, एकाग्र हुन नसक्ने ,निरन्तर सामाजिक मिडियाको निगरानीमा रहने, उमेरकै समूहतिर मनोवैज्ञानिक अस्थिरता बढेको छ।
यस्तै हिंसा, बन्द–अवरोध, अनिश्चितताले—व्यवसायी,मजदुर, कर्मचारी, सेवाग्राही सबैमा मानसिक थकान बढाएको छ । जेनजी आन्दोलनपछि देश किन मनोवैज्ञानिक रूपमा ‘स्ट्रेस्ड स्टेट’ मा छ? जेनजी दुई दिने आन्दोलनले अपुरणीय क्षति ग¥यो । सो आन्दोलनका क्रम्मा ७७ जनाको मृत्यु, २,४२९ घाइते, ८४ अर्बभन्दा बढीको संरचनागत क्षति,दलीय ध्रुवीकरण, नयाँ र पुराना भनेर गरिने विभेद ,अफवाह र षड्यन्त्रको बाढी, राजनीतिक संक्रमणले जन्माएको अनिश्चितता, सम्झौताप्रतिको असन्तुष्टि, नेतृत्वभित्रै विभाजन यो सबै भएर पनि मानसिक उपचार कसैले सुरु गरेन। यसैले देश ‘अनट्रीटेड कलेक्टिभ ट्रमा’ मा छ—सामूहिक घाउ बनाएको छ , तर कुनै उपचार छैन। अब देशलाई आवश्यक छ ‘सामूहिक मनोवैज्ञानिक पुनर्निर्माण’ । राजनीतिक निर्णयले मात्र यो समस्या हल हुँदैन। आवश्यक छ—बहुक्षेत्रीय उपचार। खुला संवाद र विश्वसनीय नेतृत्व,समाजलाई आश्वासन चाहिन्छ, प्रचार होइन।
सामुदायिक मनोवैज्ञानिक काउन्सिलिङका रुपमा अब अभियान नै चलाउनुपर्ने देखिएको छ । युवा–केन्द्रित मानसिक स्वास्थ्य कार्यक्रम आवश्यक छ। शैक्षिक तथा आर्थिक स्थिरता जब भविष्य देखिन्छ अनि मात्र मनोवैज्ञानिक तनाव घट्छ। सामाजिक तथा व्यक्तिगत मनोविज्ञानको सुदृढीकरणका लागि अफवाह, उत्तेजक सामग्री, हिंसल दृश्यलाई नियन्त्रण गर्ने नीति चाहिन्छ। सामाजिक मिडिया व्यवहारमा संयमता आएपछि मात्र मानसिक सामाजिक तथा मानसिक सन्तुलनको संयोजन हुन सक्छ ।
अर्को मनोवैज्ञानिक उपचारको पक्ष भनेको राजनीतिक पारदर्शिता पनि हो । गोप्य सम्झौता, पछाडिबाट चल्ने खेल, भागबण्डा—यी सबै मानसिक अस्थिरताको मूल स्रोत हुन्। राजनीतिक आन्दोलन सकिन्छ, तर मनोवैज्ञानिक आन्दोलन लामो हुन्छ । जेनजी आन्दोलनले नेपाललाई एउटा कटु तर आवश्यक पाठ सिकायो—राजनीतिक अस्थिरता भन्दा भयावह कुरा मानसिक अस्थिरता हो। सडकका दंगामा जलेका संरचनाहरू पुनर्निर्माण हुन सक्छन्, तर जलेको विश्वास, च्यातिएको सामाजिक सम्वाद, विभाजित चेतना, आहत युवा मनोविज्ञान यी पुनर्निर्माण गर्न राजनीतिक इच्छाशक्ति, मनोवैज्ञानिक उपचार र सामाजिक सहमतिनै आवश्यक छ। देशलाई अहिले नीति होइन, उपचार चाहिएको छ।विकास होइन, संवाद चाहिएको छ। अनि मनोवैज्ञानिक रूपमा स्वस्थ नागरिक बिना स्थिर लोकतन्त्र सम्भव छैन।]
राजनीतिक अस्थिरता र बारम्बार सरकार परिवर्तनका कारण पनि देशमा थप भ्रष्ट्राचार बढ्ने गरेको छ । सरकार बारम्बार बदलिँदा नीति स्थिरता नहुने,प्रत्येक सत्ता परिवर्तनसँगै भागबण्डा र मनपरी नियुक्ति बढ्ने,दीर्घकालीन सुधार गर्ने मानसिकता कमजोर हुने, नागरिकहरुनै शक्तिशाली निकायसँग मोलमोलाई गर्ने परिपाटी नै कुसंस्कार बनेको छ । यसलाई आगामी नेतृत्व सुधार गरी शान्तिप्रिय वातावरणमा कार्य संचालन गर्न आवश्यक छ । नेपालमा धेरैजसो नियुक्ति, ठेक्का, बजेट वितरण—योग्यताले होइन, दल–कोटाले निर्णय गर्ने ,यसले लुटेराजस्ता संरचना बनाउने, शक्ति र पैसाको चलखेलमा कानुनी संयन्त्र कमजोर बनाउने,भ्रष्टाचार मुद्दा दर्ता हुने तर सजाय नहुने, ठूला माछा छुट्ने तथा साना मात्र समातिने,अनुसन्धान निकाय राजनीतिक प्रभावमा बाँच्न बाध्य हुने जस्ता गतिविधिका कारण देशमा सिस्टममा समस्या पैदा हुने गरेको छ ।
प्रशासनिक प्रणाली जर्जर :नेपालको प्रशासन—ढिलो, कागजी, जटिल, प्रोत्साहनविहीन, पारदर्शिता कम छ।जति धेरै झन्झट, त्यति धेरै पैसा । जब राज्यले उचित तलब, अवसर र सुरक्षा दिन सक्दैन । मानिसहरू भ्रष्टाचारलाई सहज विकल्प ठान्न थाल्छन्। नेपालमा भ्रष्टाचारलाई लज्जाको विषय होइन—कुशलताको रूपमा लिने प्रवृत्ति पनि छ। काम छिटो होस् भने केही त दिनैपर्छ भन्ने मानसिकता समाजमै बसिसकेको छ। यो मनोविज्ञान तोड्न आवश्यक छ ।
अनुशासनहीन राजनीतिक संस्कृति : आन्दोलनमार्फत चाप,शक्ति साझेदारीको क्याल्कुलेसन, राजनीतिक संरक्षण’यी सबैले भ्रष्टाचारलाई सुरक्षित बनाएका छन्। राजनीतिक नेतृत्व सबैभन्दा ठूलो भाग राजनीतिक नेतृत्वको हो— पंचायतदेखि लोकतन्त्र, राजावादी शासनदेखि संघीयता–सबै चरणमा भ्रष्टाचार जोडिएर आयो। दलहरू कुशासन, भागबण्डा र सत्तासिन्डोममा केन्द्रित भए। मन्त्रीहरू ठेक्का र नियुक्तिमा हस्तक्षेप गर्दै आए। राजनीतिक संरक्षण बिना ठूलो भ्रष्टाचार सम्भव नै हुँदैन।
उच्च तहका प्रशासक : सचिव, निर्देशक, विभागीय प्रमुख—धेरैजसो अवस्थामा—फाइल रोक्ने ,बिल क्लियर नगर्ने,ठेक्का मिलाउने मूल्यांकनमै चलखेल गर्ने जस्ता काम समेत गर्छन्। राजनीतिक–प्रशासनिक गठजोडले भ्रष्टाचार संस्थागत भएको छ।
व्यापारी–ठेकेदार समूह : ठेकेदार–राजनीतिक गठबन्धन नै नेपालमा सबैभन्दा ठूलो अवैध सञ्जाल हो।
कैँयौं परियोजना अधुरै रहने, गुणस्तरहीन काम, बिल फुलाउने— यसलाई संरक्षण दिने राजनीतिक व्यक्तिहरू नै हुन्।
सरकारी कर्मचारी–मध्यस्थ दलाल : नागरिकलाई सरकारी सेवा लिनै परेपछि दलालको झोलीमा झर्नुपर्ने अवस्था।राहदानी, जग्गा, नागरिकता, कर—सबैतिर मध्यस्थ नामक अनौपचारिक भ्रष्ट संरचना छ। भ्रष्टाचारमा आम नागरिक पनि परोक्ष दोषी छन्—घुस दिएर काम गराउने,अवैध बाटो सजिलो ठान्ने ,कर छल्ने,नियम नमान्ने,गलत अभ्यासलाई स्वीकार गर्ने,समाजको यो संस्कृतिले भ्रष्टाचारलाई दिगो बनायो देखिन्छ । अब त्यस्ता गतिविधिलाई तोड्न सबैले वास्तविकतालाई हेरेर मोबाइलको सेटिङले झै सिस्टमेटिक काम गर्ने जिम्मेवारीतापूर्ण कर्तव्य पालना गर्ने मनोविज्ञानका साथ अघि नबढ्नुको विकल्प छैन् ।




