काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठकले सभापति रवि लामिछानेसँग निरन्तर परामर्श र संवादमा पार्टीको गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ । मूलतः बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयमा छलफल भएको हो ।
रास्वपाले भन्यो, “सरकारले संसद् अब प्रस्तुत गर्नुपर्ने ६ वटा अध्यादेशमा पार्टीले कसरी धारणा राख्ने भन्ने विषयमा छलफल गर्दा फरक–फरक अध्ययन गरेर प्रतिवेदनमाथि साझा धारणा बनाउने र त्यसै अनुरूप सदनमा उपस्थित हुने निर्णय गरिएको छ ।”
बैठकले पार्टीभित्र परेका उजुरीहरूलाई अनुशासन आयोगले हेर्ने निर्णय गरेको छ । साथै ७ वटा प्रदेशमा गएर पार्टीले त्यहाँका उद्योगी तथा अभियन्ताहरूसँग संवाद गर्ने र उनीहरूको धारणा सुन्ने मात्र नभई सङ्गठन विस्तारको विषयमा पनि काम गर्ने निर्णय गरेको छ ।




