काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।
अधिकारीसँग केन्द्रीय अनुसन्धान विभागमा बोलाएर बयान लिइएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । उनले सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग सामाजिक सञ्जाल (ह्वाट्सएप) मा कुरा गरेको भेटिएको छ । अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट सहसचिव हुन् । माओवादी नेताहरूकै दबाबमा अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको थियो ।
सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि गृह मन्त्रालयले उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाएको थियो । भदौ ७ मा विभागबाट मन्त्रालय तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
ब्युरोले सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो । दिपेश र दावा व्यापारिक पार्टनर रहेको खुलेको छ । सुन तस्करी प्रकरणमा माओवादी नेता वर्षमान पुनको पूरै परिवार अनुसन्धानको घेरामा परेका छन् ।
राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो । आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ । सुन प्रकरणमा हालसम्म २६ जना पक्राउ परेका छन् ।




