मुख्य समाचार

प्रचण्डलाई अलग्याउने ओलीको चाहना पूरा नहुने

काठमाडौं । यतिबेला एमाले अध्यक्ष केपी ओली सत्तागठबन्धन भाँड्न भएभरको दाउपेच लगाउन उद्यत छन् । सत्तागठबन्धनको बहुमत नपुग्ने अवस्था देखेपछि डेढ वर्षअघि आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट भुइँमा झार्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फकाउन उनी सक्रिय छन् । त्यही भएर उनले निर्वाचन जितेलगत्तै प्रचण्डलाई फोन दिएर सम्बन्ध सुधार गरे ।

यतिबेला ओलीका दूत प्रचण्ड निवासमा निरन्तर धाइरहेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ। प्रत्यक्षमा कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७–७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १–१ तथा स्वतन्त्रले ५ सिट जितेका छन्। समानुपातिकतर्फको मत परिणामअनुसार एमालेले ३४, कांग्रेस ३२, माओवादी र रास्वपा बराबर १४ हाराहारी र राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ४ सिट ल्याउने अनुमान छ।

यसअघि नै एमाले नेतृत्वमा चुनावी सहकार्यमा गएको राप्रपा र जसपालाई साथ लिएर माओवादीलाई समेत गठबन्धनबाट फुत्काउन सके संघीय सरकार बन्न सक्ने बुझाइका कारण ओली निरन्तर प्रचण्ड फकाउन लागिपरेका छन् ।

२७५ सांसद रहने प्रतिनिधिसभामा सरकार निर्माणका लागि १३८ सांसद चाहिन्छ। एमाले, माओवादी, राप्रपा र जसपा मिले संसद्‍मा १४७ सिट पुग्छ। एमाले अध्यक्ष ओली सकभर आफैं नेतृत्व लिने, त्यो हुन नसके कांग्रेसबाट माओवादीलाई अलग्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको जनाउ दिएको बताइन्छ। सोही सन्देश लिएर एमाले सचिव रघुवीर महासेठ सोमबार प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । सत्तागठबन्धनको बैठकअघि नै महासेठ र प्रचण्डबीच गोप्य कुराकानी भएको थियो ।

तर, प्रचण्डले त्यसमा ठोस निर्णय नदिएको स्रोतले बतायो । माओवादी सत्तागठबन्धनबाट बाहिरिएर एमालेसँग गठबन्धन गरे पनि त्यो गठबन्धनले सरकार बनाउन सक्ने अवस्था छैन । किनभने जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य चुनावसम्म मात्र रहेको र त्यो सकिएको घोषणा गरिसकेका छन् ।

चुनावमा एमालेले धोका दिएको भन्दै कुनै पनि हालतमा उपेन्द्र ओलीसँग हिँड्न तयार नरहेको बताइन्छ । बरु उपेन्द्र सत्तारुढ गठबन्धनसँगै मिलेर सरकारमा आउन चाहेको सन्देश पठाएका छन् । त्यसैले कुनै पनि हालतमा कांग्रेसको सरकार बन्न नदिने ओलीको चाहना पूरा नहुने देखिएको छ ।

चुनावी परिणामबारे छलफल गर्न माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा १७ मंसिरदेखि बसिरहेको बैठकले सरकार गठनका लागि सबै विकल्पमा जाने निर्णय गरेको समाचार बाहिर आयो। प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनमा माओवादीको पनि हकदाबी रहेको बताएर कांग्रेसलाई अप्ठेरोमा पार्ने छनक दिए।

नयाँ सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादीको निर्णयले सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस भने झस्किएको छ। तर, सोमबारको सत्तागठबन्धन बैठकले प्रचण्डलाई अलग्याउने ओलीको चाहनामा तुषरापात गरिदिएको छ । गठबन्धन अझै कसिलो र एकढिक्का भएर जाने बैठकले निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *