काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोलले पाएकी छन् । प्रधानमन्त्री तथा सञ्चार एवं सूचना प्रविधिमन्त्रीस्तरीय निर्णयअनुसार उनलाई माघ २३ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको हो ।
नेतृत्व सम्हाल्ने अवसर पाएसँगै उनले आजै पदभार ग्रहण गरेकी छन् । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलको नेपाल टेलिकममा लामो अनुभव रहेको छ । बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेकी उनले २०५१ सालदेखि इन्जिनियरका रूपमा टेलिकममा सेवा सुरु गरेकी थिइन् ।
तीन दशक लामो सेवाअवधिमा उनले विराटनगर र काठमाडौँ प्रादेशिक निर्देशनालयको निर्देशकका साथै वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको नेतृत्व सम्हालिसकेकी छन् । पछिल्लो समय उनी नायव प्रबन्ध निर्देशक तथा प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन् ।
पदभार ग्रहण गर्दै डंगोलले नेपाल सरकारले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरिन् । उनले आफ्नो कार्यकालमा ग्राहकको अपेक्षा र सरकारको प्राथमिकतालाई ध्यानमा राख्दै कम्पनीलाई थप प्रविधिमैत्री तथा आर्थिक रूपमा सुदृढ बनाउने प्रतिबद्धता जनाइन् । प्रतिस्पर्धी बजारमा टेलिकमलाई अब्बल बनाइराख्न कर्मचारीहरूलाई साझा उद्देश्यका साथ अघि बढ्न उनले आह्वानसमेत गरिन् ।




