प्रविधि

वार्षिकोत्सवकै दिन टेलिकम कर्मचारीको मौन विरोध

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूले मौन विरोध प्रदर्शन गरेका छन्।

बिहीबार टेलिकममा आबद्ध तीन कर्मचारी संगठन—नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन–नेपाल टेलिकम—ले संयुक्त रूपमा विरोध जनाएका हुन्। उनीहरूले ‘हामी अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा कर्मचारीहरूले आवधिक बढुवा लागू गर्न, कर्मचारी विनियमावली संशोधन गर्न तथा सेवा–सुविधा सुनिश्चित गर्न माग गरेका थिए। विनियमावली संशोधन नहुँदा १३–१४ वर्षदेखि एउटै पदमा कार्यरत रहनुपरेको उनीहरूको गुनासो छ।

कर्मचारी विनियमावली २००८ यता वृत्तिविकास अवरुद्ध भएको, अधिकृत तहमा बढुवा रोकिँदा संरचनागत असन्तुलन सिर्जना भएको युनियनहरूको दाबी छ। साधारणसभाबाट स्वीकृत बोनस तथा नेपाल सरकारको निर्णयअनुसारको महँगी भत्ता वितरण रोकिएकोप्रति पनि उनीहरूले आपत्ति जनाएका छन्।

सुविधा अवरुद्ध हुँदा कर्मचारी मनोबल घटेको र उत्पादनशीलतामा समेत असर परेको युनियनहरूको भनाइ छ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले संस्थाको बिलिङ प्रणाली, परियोजना कार्यान्वयन ढिलाइ, कर्मचारी वृत्तिविकास तथा सेवाग्राही अधिकारसम्बन्धी विषयमा तत्काल सुधार गर्न माग गरेका छन्।

हाल प्रयोगमा रहेको बिलिङ प्रणाली पुरानो भइसकेको, नयाँ प्रणाली कार्यान्वयन पटक–पटक ढिलाइ हुँदा आर्थिक कारोबार तथा सेवाग्राहीका संवेदनशील विवरण जोखिममा परेको विज्ञप्तिमा उल्लेख छ। साथै केही इन्टरनेट सेवा प्रदायकले आवश्यक अनुमति बिना सेवा विस्तार गरिरहेको भन्दै त्यसमा कडा नियमन आवश्यक रहेको माग गरिएको छ।

सेवाग्राहीले सहज, सस्तो र गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गर्न २४ घण्टा सेवा सुधारमा जोड दिनुपर्ने मागसमेत कर्मचारी संगठनहरूले गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *