बेलायतमा पुनः बसोबास थालेको केही दिनमै राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले सुरक्षा कारण आफ्ना दुई सन्तानको विद्यालय परिवर्तन गर्नुभएको छ । विद्यालयसम्मको दूरी र बाटोमा हुने अत्यधिक यातायातका कारण सुरक्षा जोखिम देखिएपछि नयाँ विद्यालय रोजिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
ह्यारी र मेघन सन् २०२० मा शाही जिम्मेवारी त्यागेर बेलायत छाडेपछि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएको थियो । अहिले उहाँहरू सात वर्षीय छोरा राजकुमार आर्ची र पाँच वर्षीया छोरी राजकुमारी लिलिबेटसँगै मध्य इङ्गल्यान्डको कोटस्वोल्ड्स क्षेत्रमा बसिरहनुभएको छ । दुवै सन्तानलाई निजी विद्यालयमा भर्ना गरिएको भए पनि विद्यालयको नाम सार्वजनिक गरिएको छैन ।
‘हेलो !’ पत्रिकाका अनुसार विद्यालयसम्मको यात्रा र भारी यातायातले सुरक्षा चिन्ता बढाएपछि विद्यालय सार्ने निर्णय गरिएको हो । ड्युक र डचेस अफ ससेक्सका प्रवक्ताले परिवारको सुरक्षा टोलीसँग वर्तमान व्यवस्थाको व्यावहारिकताबारे छलफल गरेपछि निर्णय लिइएको बताएका छन् ।
यसैबीच, ह्यारी र उहाँको परिवारले हाल निजी सुरक्षा गार्ड प्रयोग गरिरहनुभएको छ । ह्यारीले आफू र आफ्नो परिवारका लागि प्रहरी सुरक्षा पुनः उपलब्ध गराउन बेलायत सरकारसँग आग्रह गर्दै आउनुभएको छ । सार्वजनिक तथा शाही व्यक्तित्वको सुरक्षा हेर्ने शाही तथा विशिष्ट व्यक्तित्व सुरक्षा कार्यकारी समिति (रेभेक) ले गत साता उहाँको परिवारको सुरक्षा अवस्थाबारे छलफल गरेको थियो ।
बीबीसीका अनुसार रेभेकले ह्यारी र मेघनले सामना गर्न सक्ने सुरक्षा जोखिमको विस्तृत समीक्षा गर्नेछ । शाही जिम्मेवारीबाट अलग भएपछि ह्यारीको आधिकारिक सुरक्षा व्यवस्था परिवर्तन भएको थियो । राजा चार्ल्स तृतीयले पनि उहाँहरूलाई शाही परिवारका कार्यरत सदस्यका रूपमा मान्यता नदिइने स्पष्ट पार्नुभएको छ ।




