देश

सरकारको शासनशैलीमाथि कांग्रेसको ९ बुँदे प्रहार, स्वेच्छाचारिता र प्रतिशोध बढेको आरोप

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको शासन सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संवैधानिक मर्यादा उल्लंघन, राज्य संयन्त्रको दुरुपयोग र स्वेच्छाचारिता बढेको निष्कर्ष निकालेको छ ।

मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार विधिको शासनभन्दा आफूखुसी निर्णय गर्ने प्रवृत्तितर्फ उन्मुख भएको ठहर गरेको हो । बैठकपछि सार्वजनिक गरिएको निर्णयमा कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय र राज्यका अन्य अंगमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाइएको छ ।

कांग्रेसका अनुसार सरकारको जिम्मेवारी संविधानको पालना र संरक्षण गर्नु भए पनि पछिल्ला गतिविधिले संविधानको मर्म, लोकतान्त्रिक मूल्य र संवैधानिक सीमामाथि नै प्रश्न उठाएका छन् । राष्ट्रपतिजस्तो गरिमामय संस्थाको अवमूल्यन हुने व्यवहारसमेत देखिएको भन्दै कांग्रेसले सरकारलाई आफ्नो कार्यशैली सुधार्न आग्रह गरेको छ ।

सरकारले राज्यका कानुनी तथा प्रशासनिक संयन्त्रलाई प्रतिशोध साँध्ने माध्यम बनाएको कांग्रेसको आरोप छ । लोकतन्त्रमा कानुन सबैका लागि समान हुनुपर्ने उल्लेख गर्दै उसले कानुन न्याय सुनिश्चित गर्ने माध्यम भएको, कसैलाई लक्षित गरी बदला लिने हतियार नभएको स्पष्ट पारेको छ ।

सरकार निकट व्यक्तिहरू जोडिएका विवादमा निष्पक्ष अनुसन्धान नभएको भन्दै कांग्रेसले सुनकोसी–मरिन आयोजना र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणलाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ । प्रहरी अनुसन्धानसँग सम्बन्धित प्रमाणमाथि हस्तक्षेप भएको विषयले सरकारको निष्पक्षतामाथि नै प्रश्न उठाएको कांग्रेसको भनाइ छ ।

सरकारले आफ्ना निकटस्थलाई संरक्षण गर्ने र सर्वसाधारणलाई फरक व्यवहार गर्ने हो भने विधिको शासन कायम हुन नसक्ने कांग्रेसले टिप्पणी गरेको छ । राज्यका कानुनी निकायलाई सरकारको निजी सचिवालयजस्तो व्यवहार गर्न नहुने उसको धारणा छ ।

त्यस्तै, अर्थतन्त्रमा देखिएको दबाब र नागरिकको जनजीविकासँग जोडिएका समस्याप्रति सरकार गम्भीर नभएको कांग्रेसको आरोप छ । अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्दै जनताका दैनिक समस्याको समाधानमा केन्द्रित हुन उसले सरकारसँग माग गरेको छ ।

कांग्रेसले सरकारको असफलता नभई देशको सफलता चाहेको उल्लेख गर्दै राम्रा काममा सहयोग गर्न आफू तयार रहेको जनाएको छ । तर सरकार संविधान, विधिको शासन र संवैधानिक मर्यादाभित्र रहेर सञ्चालन हुनुपर्ने उसको अडान छ ।

प्रधानमन्त्रीको भारत भ्रमणदेखि बाढीपीडितको पुनर्स्थापनासम्म प्रश्न

केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भैरहवा हवाई मार्ग सञ्चालनसम्बन्धी भएको सहमतिको स्वागत गरेको छ । भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा विकास सहयोग प्याकेजसम्बन्धी सहमतिलाई पनि कांग्रेसले सकारात्मक रूपमा लिएको छ ।

तर भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषय नउठाइएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । कूटनीतिक संवादमार्फत सीमा समस्यालाई निर्णायक रूपमा उठाउने अवसर हुँदाहुँदै प्रधानमन्त्री त्यसमा प्रवेश नगरी फर्किएको भन्दै कांग्रेसले सरकारको कूटनीतिक भूमिकामाथि प्रश्न उठाएको छ ।

भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकी बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापनामा सरकारले पर्याप्त ध्यान नदिएको कांग्रेसको आरोप छ । विशेषगरी भोटेकोशी बाढी आएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि पीडितको पुनर्स्थापनामा प्रभावकारी काम हुन नसकेको भन्दै उसले सरकारको ध्यानाकर्षण गराएको छ ।

सुकुम्बासीको सम्मानजनक पुनर्स्थापनामा जोड

कांग्रेसले भूमिहीन तथा सुकुम्बासी नागरिकलाई सम्मानजनक ढंगले पुनर्स्थापना गर्न सरकारसँग माग गरेको छ । नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र आवासको हक संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व भएको उसको ठहर छ ।

त्यसैगरी पार्टीले ‘हामी तयार छौँ’ अभियानको अवधारणापत्र स्वीकृत गरेको छ । पार्टीको झण्डा र चुनाव चिह्नको अनधिकृत प्रयोग नगर्न पनि कांग्रेसले चेतावनी दिएको छ ।

पार्टीको नेतृत्व परिवर्तनसम्बन्धी विवरण निर्वाचन आयोगमा अद्यावधिक भइसकेको उल्लेख गर्दै कांग्रेसले झण्डा तथा चुनाव चिह्न दुरुपयोग गर्ने र सामाजिक सञ्जाललगायत माध्यमबाट भ्रामक प्रचार गर्ने व्यक्ति वा समूहलाई विधान तथा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने निर्णय गरेको छ ।

तीन केन्द्रीय समिति गठनको अधिकार सभापतिलाई

बैठकले केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने अधिकार पार्टी सभापतिलाई प्रदान गरेको छ ।

यसका अतिरिक्त कांग्रेसले लैंगिक हिंसाविरुद्ध सञ्चालन हुने १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाएको छ ।

सरकारको शासनशैलीमाथि प्रश्न उठाउँदै प्रतिपक्षी भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेसले आगामी दिनमा संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सरकारका गतिविधिमाथि निगरानी तथा खबरदारी गर्ने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *