देश

स्थानीय निर्वाचनलाई लक्षित गर्दै रास्वपाको सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउने र नेतृत्वको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी आइतबारदेखि सुरु हुने प्रशिक्षणमा पार्टीको नीति, नेतृत्व विकास र सङ्गठन विस्तारका विषयलाई प्राथमिकतामा राखिनेछ । कार्यक्रममा केन्द्रीय नेतृत्वका प्रतिनिधिहरूले समेत सहभागिता जनाउने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

उनका अनुसार प्रशिक्षण कार्यक्रमको प्रारम्भिक खाका तयार भइसकेको छ । शनिबारसम्म आवश्यक तयारी पूरा गरी आइतबारदेखि एकैसाथ सातै प्रदेशमा कार्यक्रम अघि बढाउने पार्टीको योजना छ ।

खरेलले प्रशिक्षणलाई पार्टीको आन्तरिक संरचना बलियो बनाउने अभियानका रूपमा व्याख्या गर्दै केन्द्रीय नेतृत्वको सहभागितामा कार्यक्रम सञ्चालन हुने बताए ।

प्रशिक्षणका क्रममा पार्टीको नीति तथा नेतृत्वबारे अभिमुखीकरण गर्नुका साथै आगामी स्थानीय तह निर्वाचनको तयारी, सङ्गठन परिचालन र चुनावी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *