काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित देशका सबै साना–ठूला कम्युनिस्ट घटकलाई एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास भइरहेको बताएका छन्।
उनका अनुसार अभियानमार्फत पार्टी सदस्यता नवीकरण, आगामी स्थानीय तह निर्वाचनको प्रारम्भिक तयारी र पार्टी महाधिवेशनको प्रक्रिया अघि बढाइनेछ। मंसिरमै महाधिवेशन गर्न सम्भव नभएपछि अभियानलाई त्यसको तयारीसँग पनि जोडिएको उनले बताए।
प्रचण्डले नेपालमा वामपन्थी जनमत ठूलो रहेकाले त्यसलाई एकीकृत गर्न सके मात्रै समाजवाद निर्माणको आधार बलियो हुने धारणा राखे। त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो क्षेत्रका अन्य कम्युनिस्ट समूहसँग संवाद, सहकार्य र एकताको पहल गर्नुपर्ने उनको आग्रह छ।
‘अन्य विभिन्न पक्षसँग वार्ता, संवाद र सकारात्मक तथा रचनात्मक सोचका साथ एकतामा ल्याउन, ध्रुवीकरण गर्न हामी सबैले सामूहिक प्रयास गर्नुपर्छ। हामी केन्द्रमा आशावादी छौँ। अहिले विभिन्न पक्षसँग सहकार्यमै छौँ,’ उनले भने।
उनले विचार, राजनीति र सिद्धान्तमा समानता खोज्दै कार्यगत एकता र सहकार्यलाई विस्तार गर्नुपर्ने बताए। कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा उभिए मात्रै मुलुकमा देखिएका राजनीतिक तथा सामाजिक समस्याको समाधान गर्न सहज हुने उनको भनाइ छ।
वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न कम्युनिस्ट एकता मात्रै पर्याप्त नहुने उल्लेख गर्दै प्रचण्डले शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच पनि साझा मोर्चा आवश्यक रहेको बताए। एमाले र मसालसँग समेत कार्यगत एकताको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए।
विगतमा कम्युनिस्ट एकताको प्रयास सफल हुन नसकेको भए पनि त्यसबाट निराश भएर अभियान रोक्न नहुने प्रचण्डको तर्क छ।
‘अझै पनि नेपालका साना–ठूला कम्युनिस्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ। विगतमा एकताको झण्डा उठाएका थियौँ, तर त्यसलाई बचाउन सकेनौँ। एकपटक असफल भयो भन्दैमा फेरि प्रयास नै नगर्ने भन्ने हुँदैन,’ उनले भने।
प्रचण्डले शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय स्वाधीनताका पक्षधर सबै राजनीतिक शक्तिलाई साझा राजनीतिक धारमा जोड्ने प्रयास भइरहेको पनि बताए।




