काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधिकारिक अभिलेखमा अद्यावधिक गरेको छ ।
आयोगको मंगलबार साँझ बसेको बैठकले नयाँ कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार निर्णयबारे औपचारिक जानकारीसहितको पत्र बुधबार कांग्रेसलाई पठाइएको हो ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । महाधिवेशनले वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित २० जना पदाधिकारी र २३१ जना केन्द्रीय सदस्य पनि चयन गरेको थियो ।
नयाँ कार्यसमितिलाई अद्यावधिक गर्न कांग्रेसका तर्फबाट प्रदीप पौडेलले कात्तिक १६ गते आयोगमा निवेदन दिएका थिए । तर, पार्टी विधानमा गरिएका विभिन्न संशोधन र आवश्यक विवरण पूर्ण रूपमा प्राप्त नभएकाले प्रक्रिया लम्बिएको आयोगले जनाएको छ ।
आयोगले प्राप्त कागजात तथा विवरणको अध्ययन र परीक्षण पूरा गरेपछि नयाँ केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । यससँगै गगन थापा नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगको अभिलेखमा औपचारिक मान्यता पाएको छ ।




