काठमाडौं । भारत भ्रमणबाट फर्किएको तीन दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । करिब २० मिनेट भएको भेटमा भारत भ्रमणका उपलब्धि र राष्ट्रपति कार्यालयमा विचाराधीन तीनवटा अध्यादेशका विषयमा छलफल भएको छ ।
राष्ट्रपति भवनमा भएको भेटमा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । विशेषगरी भारतबाट प्राप्त हुने आर्थिक सहयोगको प्याकेज र भैरहवाका लागि हवाई रुटसम्बन्धी सहमतिलाई उनले भ्रमणका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए ।
भेटका क्रममा प्रधानमन्त्री शाहले सरकारले सिफारिस गरेका अध्यादेशहरू जारी गरिदिन राष्ट्रपतिसमक्ष आग्रहसमेत गरेका थिए । स्रोतका अनुसार संसद् अधिवेशन सञ्चालनमा नरहेको र सरकारले विभिन्न कानुन निर्माण तथा संशोधनको काम गरिरहेकाले अत्यावश्यक अवस्थामै अध्यादेश ल्याइएको प्रधानमन्त्रीको भनाइ थियो ।
यतिबेला राष्ट्रपति कार्यालयमा प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग गठनसम्बन्धी अध्यादेश विचाराधीन छन् ।
यीमध्ये प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश गत कात्तिक १७ गते सिफारिस गरिएको थियो । सिफारिस भएको तीन साता बितिसक्दा पनि राष्ट्रपति कार्यालयले त्यसलाई जारी गर्ने निर्णय गरेको छैन ।
प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने विषय अध्यादेशमार्फत संशोधन गर्न खोजिएको भन्दै नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला संस्थाले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । मौलिक हकसँग जोडिएका विषयमा संसद्मा पर्याप्त छलफल नगरी अध्यादेश ल्याउँदा पर्न सक्ने प्रभावबारे राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको बताइएको छ ।
भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक व्यवस्थामा संवैधानिक तथा लोकतान्त्रिक संस्थाहरूको महत्त्वलाई आत्मसात् गर्नुपर्ने धारणा राखेका थिए । लोकतन्त्रलाई बलियो बनाउन संस्थागत अभ्यास, संवैधानिक प्रक्रिया र स्थापित परम्पराको सम्मान आवश्यक रहेको उनको भनाइ थियो ।
यसअघि प्रधानमन्त्री शाह भारत भ्रमणमा जानुअघि राष्ट्रपतिसँग शिष्टाचार भेट नगरेको भन्दै आलोचित भएका थिए । विगतमा विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने तथा विपक्षी दलका नेताहरूसँग समेत छलफल गर्ने अभ्यास रहे पनि यसपटक प्रधानमन्त्रीले त्यसलाई निरन्तरता दिएका थिएनन् ।
भारत भ्रमणबाट फर्किएपछि पनि प्रधानमन्त्रीले राष्ट्रपति भेट्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका थिए । लामिछानेले पनि शुक्रबार राष्ट्रपति पौडेलसँग करिब ४० मिनेट छलफल गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय पुगेका थिए ।
यस सरकार गठन भएयता संसद्को अधिवेशन अन्त्य भएपछि विभिन्न विषयमा १३ वटा अध्यादेश जारी भइसकेका छन् । थप तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन रहेकाले सरकार र राष्ट्रपतिबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।




