जनकपुर । भगवान् रामको नगरी भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल माता सीताको नगरी जनकपुरधाम आइपुगेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गरेपछि अयोध्याबाट छुटेको रेल मङ्गलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो ।
रेलमा भारतीय पक्षबाट आमन्त्रित विशिष्ट व्यक्तित्व, भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब एक हजार एक सय अतिथि सहभागी छन् । उनीहरूलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतले स्वागत गरे।
अतिथिको स्वागतमा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अतिथिलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत जनकपुरधामका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराउने कार्यक्रम रहेको जानकारी दिए ।
उनका अनुसार रेल जनकपुरधाम रेलवे स्टेसनमा करिब तीन घण्टा रोकिनेछ । त्यसपछि अतिथिसहितको रेल पुनः भारतको अयोध्याका लागि प्रस्थान गर्नेछ ।
भारतीय रेल विभागले सार्वजनिक गरेको समयतालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट प्रस्थान गर्ने रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्याधामको क्यान्ट स्टेसन पुग्नेछ। त्यसैगरी, सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्याधामको क्यान्टबाट प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्नेछ।




