जनकपुर। मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण, युवालाई सीपयुक्त बनाउँदै स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्दै प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्या समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्ने निर्णय गर्नुभएको हो ।
मुख्यमन्त्रीको पहिलो निर्णयका रूपमा अघि सारिएको कार्यक्रमअन्तर्गत पुनः सीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
त्यस्तै, आधुनिक प्रविधिमा आधारित स्वरोजगार र आत्मनिर्भरता प्रवर्द्धन गर्न कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गरिनेछ । यसबाट युवाको क्षमता अभिवृद्धि गर्दै उद्यमशीलताको विकास गर्ने प्रदेश सरकारको लक्ष्य छ ।
प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम सुरु गर्ने गरी निर्णय गरिएको जनाइएको छ ।




