देश

बूढीगण्डमा सुक्खा पहिरोपछि बाढी आएको नेपाली सेनाको प्रष्टिकरण

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा सुक्खा पहिरोका कारण नदीको बहाव अवरुद्ध भई थुनिएको पानी खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको नेपाली सेनाले जनाएको छ । सेनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारीअनुसार आइतबार बिहान चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदीमा पहिरो खसेर बहाव रोकिएको थियो । पछि थुनिएको भाग खुलेपछि नदीमा लेदो र गेग्रानसहितको बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।

सेनाको श्री नम्बर ३ बाहिनी अड्डाले बिहान ५ः५५ बजे नदी थुनिएको प्रारम्भिक सूचना प्राप्त गरेको थियो । त्यसपछि गोरखामा तैनाथ रुद्रध्वज गणअन्तर्गत बाङ्सिङ सुरक्षा पोस्टबाट बिहान ६ः१५ बजे रेकी टोली परिचालन गरिएको थियो । टोलीले चुमनुब्री गाउँपालिका–३ को फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पुष्टि गरेको थियो ।

यद्यपि, बाढीको वास्तविक कारणबारे विस्तृत अध्ययन हुन बाँकी रहेको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीका अनुसार बाढीको प्रकृति गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीसँग मिल्दोजुल्दो देखिए पनि यसको उद्गमस्थल र कारण अझै स्पष्ट भइसकेको छैन । बाढीको कारण पत्ता लगाउन ड्रोनसहितको टोली बूढीगण्डकीको माथिल्लो क्षेत्रमा परिचालन गरिएको छ ।

बूढीगण्डकीमा आएको बाढीले गोरखाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । बाढीले चुमनुब्री–३ को न्याकचेतबाट सिर्दिबास जोड्ने झोलुंगे पुल र धार्चे–५ को माछिखोलाबाट केरौजा जोड्ने अर्को झोलुंगे पुल बगाएको छ ।

त्यस्तै, गोरखा–आरुघाट हुँदै धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसमेत बाढीले बगाएको छ । धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका ८ देखि १० वटा घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बाढीका कारण एउटा कच्ची घर पूर्ण रूपमा बगेको, आठवटा घर र आठवटा टहरामा बाढी पसेको तथा थप २२ वटा घर जोखिममा रहेको विवरणसमेत प्राप्त भएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका ६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । उनीहरूलाई चुमनुब्री गाउँपालिका–३ को जगतबाट उद्धार गरिएको सेनाले जनाएको छ ।

बाढीबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि भौतिक संरचना र बस्तीमा ठूलो क्षति पुगेको छ । नदीको माथिल्लो क्षेत्रमा पहिरोको अवस्था, बाढीको उद्गम र थप जोखिमबारे सम्बन्धित निकायले अध्ययन तथा निगरानी गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *