काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सम्पत्ति विवरण सार्वजनिक भएको छ। विवरणअनुसार उनी र उनकी श्रीमतीको नाममा विभिन्न कम्पनीका सेयर, बैंक मौज्दात, सुनचाँदी, सवारीसाधन तथा कृषि सम्पत्तिसहित उल्लेख्य सम्पत्ति रहेको देखिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सार्वजनिक विवरणअनुसार मन्त्री पछाईसँग २० तोला सुन र ५० तोला चाँदी छ। तर, सम्पत्ति विवरणमा सुनचाँदीको स्रोत स्पष्ट रूपमा खुलाइएको छैन।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ स्थायी घर भएका पछाईको परिवारका नाममा जुम्ला र बर्दियामा गरी ३१ स्थानमा जग्गाजमिन रहेको उल्लेख छ। जुम्लामा उनका बुबाको नाममा ६० र १२९ वर्गमिटर क्षेत्रफलका दुईवटा पुर्ख्यौली घर छन्। यसबाहेक जुम्लाका विभिन्न २८ स्थानमा पुर्ख्यौली जग्गा र बर्दियाको राजापुर नगरपालिका–२ का तीन स्थानमा समेत जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
मन्त्री पछाई र उनकी श्रीमतीको नाममा २८ वटा कम्पनीमा कुल ४३ हजार ५४२ कित्ता सेयर रहेको सम्पत्ति विवरणले देखाउँछ। तीमध्ये सम्पदा लघुवित्तमा मात्रै मन्त्री पछाईको ७२ लाख ७३ हजार ७५६ रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ।
दम्पतीले त्रिशूली जलविद्युत् आयोजनालगायत विभिन्न कम्पनीमा लगानी गरेका छन्। यद्यपि, सबै सेयरको हालको बजार मूल्य र कुल सम्पत्तिको एकमुष्ट मूल्य विवरणमा स्पष्ट रूपमा खुलाइएको छैन।
बैंक खातामा दम्पतीको नाममा गरी १२ लाख १५ हजार रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, नागरिक लगानी कोषमा उनीहरूको नाममा ९ लाख १३ हजार ६६४ रुपैयाँ जम्मा रहेको उल्लेख छ। यति धेरै सम्पत्ति तथा लगानी देखिए पनि मन्त्री पछाईले आफूहरूमाथि कुनै ऋण नरहेको विवरण पेस गरेका छन्।
सवारीसाधनतर्फ मन्त्री पछाईको नाममा २ लाख ४० हजार रुपैयाँ मूल्यको बजाज मोटरसाइकल र श्रीमतीको नाममा २ लाख ८५ हजार रुपैयाँ मूल्यको स्कुटर रहेको छ। यी सवारीसाधन खरिदको स्रोतमा व्यक्तिगत आम्दानी र बैंकको जागिर उल्लेख गरिएको छ।
कृषितर्फ जुम्लामा २०० बोट स्याउ र १५ बोट ओखरका साथै एउटा गाई रहेको विवरणमा उल्लेख छ। विद्युतीय सामग्रीअन्तर्गत दुई थान एप्पल मोबाइल र एउटा ल्यापटप रहेको जनाइएको छ।
गत भदौ ३ गते आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका पछाईको सम्पत्ति विवरण सार्वजनिक भएसँगै उनको आर्थिक अवस्था र लगानीबारे चासो बढेको छ। सार्वजनिक विवरणमा उल्लिखित सम्पत्तिको मूल्य, सेयरको हालको बजार मूल्य तथा सुनचाँदीको स्रोतबारे थप स्पष्टता भने आवश्यक देखिन्छ।




