काठमाडौँ। रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकी क्षेत्रमा हालै भएका प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूको आत्मिक शान्ति तथा मोक्षको कामनासहित विश्वकल्याण महारुद्राभिषेक यज्ञ आयोजना गरिने भएको छ।
वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा आगामी कात्तिक २९ गतेदेखि मङ्सिर १ गतेसम्म तीनदिने यज्ञ गर्न लागिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिए।
‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्नुभएका महर्षि योगीले विसं २०३१ कात्तिक ८ देखि २३ गतेसम्म नेपाल भ्रमण गर्नुभएको थियो। उहाँको नेपाल आगमनलाई वैदिक ज्ञानको पुनःउत्थानसँग जोडेर महर्षि महाअभियानले विश्वव्यापी अभियान सञ्चालन गर्दै आएको छ।
महर्षि योगीलाई नेपाल आमन्त्रण गरी स्वागत गर्ने व्यक्तित्वहरूमा योगी नरहरिनाथ, नाट्यसम्राट बालकृष्ण सम तथा संस्कृतिविद् एवं साहित्यकार पूर्णप्रसाद ब्राह्मणलगायत रहनुभएको थियो।
यज्ञ आयोजना गर्न पूर्वमन्त्री बास्कोटाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। समितिको बैठकमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटा, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. हृदयलाल कोइराला, प्रा.डा. पुष्पराज पोख्रेल, नेपाली सेनाका पूर्वउपरथी होमनाथ दवाडीलगायत धार्मिक, सांस्कृतिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।
बैठकले वरिष्ठ लेखापरीक्षक उपेन्द्र सापकोटालाई यज्ञको लेखा समिति संयोजकको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। महर्षि संस्थाले हरेक वर्ष कम्तीमा एक महारुद्र महायज्ञ आयोजना गर्ने सङ्कल्प लिएको अध्यक्ष बास्कोटाले बताए।
यसअघि विसं २०८१ मा महर्षि योगीको नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ आयोजना गरिएको थियो। त्यसैगरी, विसं २०८२ मा दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा महारुद्र यज्ञ सम्पन्न गरिएको थियो।
फाउन्डेसनका अनुसार आगामी यज्ञमा सहभागी नेपालीले स्वयं कर्ताका रूपमा आआफ्नो हातमा जौ, तिल र कुश राखेर व्यक्तिगत अभिष्ट सिद्धिको कामनासहित सङ्कल्प गर्न सक्ने व्यवस्था मिलाइएको छ।




