देश

राजदूत शर्मालाई सांसदको प्रश्न : चिनियाँ चाहना कि नेपालको राष्ट्रिय स्वार्थ प्राथमिकतामा ?

काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. कल्याणराज शर्माको कूटनीतिक प्राथमिकता, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको सहकार्य र व्यावसायिक पृष्ठभूमिलाई लिएर सांसदहरूले प्रश्न उठाएका छन्। संसदीय सुनुवाइका क्रममा सांसदहरूले चीनसँगको सम्बन्ध अघि बढाउँदा नेपालको राष्ट्रिय हितलाई कसरी केन्द्रमा राख्नुहुन्छ भन्ने विषयमा स्पष्टता खोजेका हुन्।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत शर्मालाई चीनको चाहना र नेपालको स्वार्थबीच प्राथमिकता कसलाई दिने भन्ने प्रश्न गरेका थिए। ‘तपाईंको प्राथमिकता चिनियाँ चाहना हुन्छ कि नेपालको स्वार्थ रु’ भन्ने प्रश्न गर्दै चौलागाईंले नेपालको कूटनीतिक सम्बन्धमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने भन्ने विषय उठाएका हुन्।

बीआरआईमा ऋण होइन, अनुदानका लागि पहल गर्न सक्नुहुन्छ ?

सांसद चौलागाईंले नेपाल र चीनबीचको सहकार्यमा बीआरआईको वित्तीय ढाँचा महत्त्वपूर्ण र पेचिलो विषय बनेको उल्लेख गर्दै ऋण वा अनुदानमध्ये कुन आधारमा परियोजना अघि बढाउने भन्ने सवालमा प्रस्तावित राजदूतको भूमिका खोजेका थिए। उनले बीआरआईअन्तर्गतका परियोजनामा अनुदान प्राप्त गर्न नेपालका तर्फबाट कस्तो कूटनीतिक पहल गर्न सकिन्छ भन्ने प्रश्न गर्दै त्यसका लागि शर्माको योजना मागेका थिए।नेपालले विकास परियोजनाका लागि बाह्य सहयोग लिँदा आर्थिक दायित्व, ऋणको भार र दीर्घकालीन लाभलाई कसरी सन्तुलनमा राख्ने भन्ने बहसका बीच सांसदको प्रश्नले चीनसँगको आर्थिक सहकार्यका सर्त र नेपालको वार्ताक्षमतामाथि ध्यान केन्द्रित गरेको छ।

भारत, चीन र अमेरिकाबीचको प्रतिस्पर्धामा नेपालको रणनीति के ?

चौलागाईंले नेपालमा भारत, चीन र अमेरिकाबीच भूराजनीतिक प्रतिस्पर्धा बढिरहेको सन्दर्भ पनि उठाएका थिए। उनले चीनको सम्भावित दबाब वा प्रभावलाई नेपालको हितअनुकूल उपयोग गर्न प्रस्तावित राजदूतले कस्तो रणनीति अपनाउनेछन् भन्नेबारे प्रश्न गरेका थिए। नेपालको भौगोलिक अवस्थिति र छिमेकी तथा अन्य शक्तिराष्ट्रसँगको सम्बन्धका कारण परराष्ट्र नीतिमा सन्तुलन कायम गर्नु महत्त्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा प्रस्तावित राजदूतको भूमिका चीनसँगको सम्बन्ध विस्तारमा मात्र सीमित नभई नेपालको निर्णय क्षमता, आर्थिक हित र कूटनीतिक स्वायत्तता जोगाउन कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय पनि सुनुवाइमा उठेको छ।

चीन विज्ञताको प्रशंसा, व्यावसायिक पृष्ठभूमिबारे चासो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले शर्माको चीनसम्बन्धी विज्ञता र अनुभवप्रति विश्वास व्यक्त गर्दै उनको व्यावसायिक पृष्ठभूमिले कूटनीतिक जिम्मेवारीमा पार्न सक्ने प्रभावबारे प्रश्न गरेका थिए। ‘उहाँ चीनको विज्ञ हो, राम्रो जानकारी छ। राम्रो गर्न सक्नुहुन्छ भन्ने विश्वास छ,’ पुनले भनेका थिए। तर, चीनमा रहेर व्यापारमा समेत संलग्न भएको पृष्ठभूमिले राजदूतको भूमिकामा प्रभाव पार्न सक्ने हो कि होइन भन्ने उनको चासो थियो।

राजदूतको जिम्मेवारीमा सम्बन्धित देशको ज्ञान, अनुभव र सम्पर्क महत्त्वपूर्ण भए पनि राष्ट्रिय हितको प्रतिनिधित्व, निष्पक्षता र स्वार्थको द्वन्द्वबाट बच्ने विषय पनि उत्तिकै संवेदनशील मानिन्छ। प्रस्तावित राजदूत शर्माको संसदीय सुनुवाइमा उठेका प्रश्नले नेपाल–चीन सम्बन्धलाई आर्थिक सहयोग र कूटनीतिक निकटतामा मात्र सीमित नराखी राष्ट्रिय स्वार्थ, वित्तीय दायित्व, भूराजनीतिक सन्तुलन र राजदूतको व्यावसायिक निष्पक्षताका आधारमा अघि बढाउनुपर्ने विषयलाई केन्द्रमा ल्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *