काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गरेको हो। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा स्थानीय र प्रदेश निर्वाचनको तयारी अभियानका मुख्य उद्देश्य रहेका छन्।
कात्तिक ७ गते अभियानको उद्घाटन गरिनेछ। अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइने प्रवक्ता ज्वालाले जानकारी दिए।
त्यस्तै, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई पनि अभियानमा समेटिने उनले बताए।
यसैबीच, नेकपाले संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन वडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। पार्टीले आगामी पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।
स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना रहेको पनि प्रवक्ता ज्वालाले बताए।




