देश

आज एमाले स्थायी कमिटी बैठक, पहिलोपटक विद्या भण्डारी सहभागी हुँदै

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने एमालेका प्रचार प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो।

आजको बैठकमा पहिलोपटक पूर्वराष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा सहभागी हुनुहुने भएको छ।

एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारी रहने तथा थप सात जनालाई मनोनीत गर्ने निर्णय गरेपछि स्थायी कमिटी बैठक बोलाइएको हो। वरिष्ठ नेताका रूपमा मनोनीत भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लाग्नुभएको हो।

स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे थपिनुभएको छ।

बैठकले केन्द्रीय कमिटीबाट प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारीबारे निर्णय गर्ने बताइएको छ। बैठकबाट केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लगाउने एमालेको तयारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *