विश्व

भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा

भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गरिरहेका छन् । यद्यपि, निर्वाचन आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।

दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको जनाएको थियो । राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई पहेँलो धातुका बारले घेरेर केही दिनदेखि बन्द गरिएको थियो र त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो
।
तर, मङ्गलबार सिजेपी नेता अभिजीत दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको देखिन्छ । प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।

सिजेपीले सामाजिक सञ्जालमा आफ्ना नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिन्देसहितका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको जनाएको छ । दिप्केले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै प्रतिरोधलाई रोक्न नसकिने बताउनुभएको छ ।

दिल्ली प्रहरीले जन्तर मन्तरको विकल्पका रूपमा सोमबार तीनवटा आधिकारिक प्रदर्शनस्थल तोकेको थियो । दशकौँदेखि प्रदर्शन हुँदै आएको जन्तर मन्तरमा सिजेपीले पनि यसअघि आन्दोलन गरेको थियो । उक्त पार्टीको प्रदर्शनपछि परीक्षामा अनियमितता भएको विवादका कारण गत जुलाईमा शिक्षामन्त्रीले पद छाड्नुभएको थियो ।

यसैबीच, प्रधानमन्त्री मोदीले मङ्गलबार नयाँदिल्लीमा आयोजित व्यापार सम्मेलनमा भारतलाई ‘लोकतन्त्रकी जननी’ बताउनुभएको छ । उहाँले देशमा विभिन्न विषयमा खुला बहस हुने र फरक दृष्टिकोणमाथि छलफल गरिने उल्लेख गर्नुभयो । तर, उहाँले जारी विरोध प्रदर्शनबारे प्रत्यक्ष टिप्पणी गर्नुभएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *