नेपाली कांग्रेस फेरि एकपटक गम्भीर मोडमा उभिएको छ । गत पुसमा रोपिएको विशेष महाधिवेशनको बीजारोपणले कांग्रेस फेरि विभाजन हुने हो कि भन्ने चिन्ता छाएको छ । पूर्वसभापति शेरबहादुर देउवा र विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले मंगलबार जारी गरेको अलग अलग अपिलले कांग्रेस एकढिक्का रहनेमा सन्देह उत्पन्न गरेको छ ।
थापा नेतृत्वको संस्थापन पक्षले असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु गरी महाधिवेशन प्रक्रिया अघि बढाउने निश्चित गरेपछि देउवाले सातबुँदे अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको १५औँ महाधिवेशनमा सहभागी नहुन अपिल गरेसँगै कांग्रेस सम्भाव्य फुटको अवस्थामा पुगेको अड्कलबाजी गरिएको हो । यद्यपि अझै केही दिन बाँकी रहेको र संवाद सुरु हुन सके विभाजन रोक्न सकिने आमकांग्रेसीजन र शुभचिन्तकहरूको विश्वास छ ।
देउवाले विशेष महाधिवेशन र त्यसबाट बनेको वर्तमान केन्द्रीय कार्यसमितिलाई अवैधानिक ठहर गर्दै कांग्रेस आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकलौटी रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउनु कानुनी सिद्धान्तविपरीत हुने तर्क गरेका छन् । केही हदसम्म यो सत्य नजिक देखिन्छ ।
पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाले यही तर्क गर्दै तठस्थताको नीति अवलम्बन गरेका हुन् । देउवाले आफू १४औँ महाधिवेशनबाट विधिवत् निर्वाचित सभापति भएकाले १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक र नैतिक दायित्व भएको जिकिरसमेत गरेका छन् । त्यही भएर पार्टीको विधान र संविधानबमोजिम महाधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै सहमतिबिना हतारमा अधिवेशन गरेर पार्टी विभाजन गर्न खोजिए आफू मुकदर्शक भएर नबस्ने चेतावनीसमेत देउवाले दिएका छन् । तर विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आइसकेको, त्यही नेतृत्वको हस्ताक्षरमा पार्टी आमनिर्वाचनमा गएको, निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता पनि दिइसकेको अवस्थालाई पनि यहाँ बिर्सनु हुन्न ।
अर्कोतर्फ सभापति गगन थापाले विशेष महाधिवेशनपश्चात हुन गइरहेको १५औं महाधिवेशनको प्रक्रियामा पार्टीका सबैको सहभागिता सुनिश्चित गर्न पूर्वकेन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी एवं सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा समावेश गर्ने गरी आवश्यक प्रबन्ध गरिसकेको बताएका छन् । थापाले मंगलबार राति जारी गरेको अपिलमा कतै अलमल नगरीकन १५औँ महाधिवेशनमा सहभागी हुन भनेका छन् । उनको सोही अपिलपछि दर्जनौं युवा नेताहरू सानेपा जान थालेका छन् भने असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनका लागि जिल्ला जाने घोषणा गरेका छन् ।
यसले पार्टीका दुवै पक्षका हार्डलाइनरलाई दबाब पनि सिर्जना गरेको छ । यदि अहिले संस्थापन र इतर पक्ष आग्रह पूर्वाग्रह नराखी संवादमा जुट्ने हो भने केही समयका लागि महाधिवेशनको मिति पछि पनि सार्न सकिन्छ । यसका लागि प्रमुख जिम्मेवारी सभापति थापाकै काँधमा छ । पूर्वसभापति देउवाले पनि आफ्नो ग्रेसफुल एक्जिटका लागि नियमित महाधिवेशनमै जान बल गर्नुपर्छ । नत्र दुईपटक कांग्रेस विभाजन गरेको आरोप उनीमाथि लाग्नेछ । थापा र देउवालाई एक ठाउँमा ल्याएर पार्टीलाई विभाजनको डिलमा पुग्न नदिनु कांग्रेसका अन्य सिनियर नेताहरूको पनि कर्तव्य हो ।
त्यही भएर अहिले आवेग र पूर्वाग्रह त्यागेर विवेकसम्मत ढंगले निर्णय गर्ने बेला आएको छ । अहंले गर्ने भनेको खति नै हो । यदि कांग्रेस सग्लो नरहेमा देश र जनताले फेरि पनि दुःख र कष्ट भोग्नुपर्ने निश्चित छ ।




