देश

पाँच महिनादेखि गंगालालको सिटी स्क्यान सेवा ठप्प, मुटुरोगी निजी अस्पताल धाउन बाध्य

काठमाडौं । देशकै प्रमुख सरकारी मुटु अस्पतालका रूपमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिटी स्क्यान सेवा लामो समयदेखि प्रभावित हुँदा उपचारका लागि आउने बिरामी प्रत्यक्ष मारमा परेका छन्। गत वैशाखदेखि अस्पतालको सिटी स्क्यान मेसिन सञ्चालनमा नआएपछि मुटुरोगीहरू महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा परीक्षण गराउन वा लामो समयसम्म पालो कुर्न बाध्य भएका हुन्। विशेषगरी मुटुको रक्तनलीमा अवरोध भए–नभएको पत्ता लगाउन प्रयोग हुने सिटी कोरोनरी एन्जियोग्राफी सेवा प्रभावित भएपछि नियमितसँगै आकस्मिक बिरामीसमेत समस्यामा परेका छन्।

अस्पतालमा सामान्य अवस्थामा दैनिक करिब ४० जनासम्म बिरामीको सिटी स्क्यान हुँदै आएको थियो। सरकारी दरअनुसार करिब १० हजार रुपैयाँमा उपलब्ध हुने यो सेवा अहिले निजी स्वास्थ्य संस्थामा लिनुपर्दा करिब २० हजार रुपैयाँसम्म खर्च हुने गरेको बिरामीहरूको गुनासो छ। दाङका ५६ वर्षीय नवीन श्रेष्ठ मुटुमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार सिटी स्क्यान गराउन गंगालाल पुगेका थिए। तर अस्पतालमै सेवा उपलब्ध नभएपछि उनलाई बाहिर जान भनियो।

सरकारी अस्पतालमा तुलनात्मक रूपमा सस्तोमा परीक्षण हुने अपेक्षा गरेका उनी निजी स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था आएपछि निराश बनेका छन्। सिटी स्क्यान सेवा बन्द भएपछि आकस्मिक प्रकृतिका बिरामीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पठाउने गरिएको छ। अन्य बिरामीलाई भने अवस्था हेरी एक सातादेखि एक महिनासम्मको पालो दिने गरिएको अस्पतालले जनाएको छ। सिटी स्क्यान मेसिनको मुख्य उपकरणका रूपमा रहेको ‘एक्स–रे ट्युब’को कार्यक्षमता समाप्त भएर बिग्रिएपछि समस्या सुरु भएको हो। अस्पतालले करिब साढे दुई करोड रुपैयाँ लागतमा नयाँ ट्युब खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाएको थियो।

विदेशबाट ल्याइएको नयाँ ट्युब मेसिनमा जडान गरेपछि प्राविधिक खराबी देखिएर पुनः बिग्रिएको थियो। उपकरण वारेन्टी अवधिमै रहेकाले आपूर्तिकर्ता कम्पनीले अर्को नयाँ ट्युब पठाएको छ। तर उक्त उपकरण अहिले भन्सार कार्यालयमै रोकिएको अस्पतालले जनाएको छ। पहिलोपटक ल्याउँदा प्राप्त भएको भन्सार छुटको सुविधा दोस्रोपटक उपकरण ल्याउँदा लागू गर्ने विषयमा कानुनी तथा कागजी प्रक्रिया जटिल बनेपछि सामान भन्सारमै रोकिएको बताइएको छ।

गंगालालका निर्देशक डा. आशिष अमात्यले करिब आठ वर्ष पुरानो सिटी स्क्यान मेसिनमा प्राविधिक समस्या आएको बताए। उनका अनुसार सार्वजनिक खरिद प्रक्रियाका कारण उपकरण तथा पार्टपुर्जा तत्काल ल्याउन कठिन हुने गरेको छ। उनले टेन्डर प्रक्रिया पूरा गरेर नयाँ ट्युब ल्याउनै करिब तीन महिना लागेको र मेसिनमा जडान गरेलगत्तै उपकरण बिग्रिएपछि समस्या थपिएको बताए।

अस्पतालमा प्रयोग हुने उपकरण तथा पार्टपुर्जा विदेशबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया लामो हुँदा सेवा प्रभावित हुने गरेको उनको भनाइ छ। उनका अनुसार एउटा सिटी स्क्यान मेसिनको लागत नै करिब २० करोड रुपैयाँ पर्ने भएकाले वैकल्पिक मेसिनसमेत तत्कालै खरिद गरेर राख्न सहज छैन।

डा. अमात्यले आकस्मिक बिरामीलाई वैकल्पिक अस्पतालमा पठाउने र अन्य बिरामीलाई समय दिएर सेवा व्यवस्थापन गरिरहेको बताए।
उनले स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएका अत्यावश्यक उपकरण खरिद तथा मर्मतका लागि ‘र्‍यापिड च्यानल’बाट छोटो समयमै खरिद प्रक्रिया अघि बढाउने व्यवस्था आवश्यक रहेको बताए। यस विषयमा स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी गराउने तयारी रहेको उनको भनाइ छ।

देशकै प्रमुख सरकारी मुटु अस्पतालमा पाँच महिनासम्म अत्यावश्यक परीक्षण सेवा अवरुद्ध हुनु केवल एउटा मेसिन बिग्रिएको विषयमा सीमित नरही सरकारी स्वास्थ्य प्रणालीको तयारी र उपकरण व्यवस्थापनमाथि समेत प्रश्न बनेको छ। विशेषगरी मुटुका आकस्मिक बिरामीका लागि समयमै परीक्षण हुन नसक्दा उपचारमा ढिलाइ हुने जोखिम रहन्छ। सरकारी अस्पतालमा सहुलियत दरमा उपलब्ध हुने सेवा बन्द हुँदा आर्थिक रूपमा कमजोर बिरामी निजी स्वास्थ्य संस्थाको महँगो सेवामा निर्भर हुनुपर्ने अवस्था आएको छ।

त्यसैले बिग्रिएको उपकरण तत्काल सञ्चालनमा ल्याउने, वैकल्पिक व्यवस्था सुनिश्चित गर्ने र भविष्यमा यस्ता अत्यावश्यक सेवा लामो समय बन्द नहुने गरी सरकारले उपकरण खरिद, मर्मत तथा आपूर्ति प्रणालीमा सुधार गर्ने रणनीति बनाउनुपर्ने आवश्यकता देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *