देश

प्रारम्भिक बालविकासका कर्मचारीहरुको तलब वृद्धि गर्न ७७ वटा जिल्लालाई निर्देशन

काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी तथा संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक वृद्धि गर्ने निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णयअनुसार मन्त्रिपरिषद्को गत २०८३ भदौ ३ गते बसेको बैठकले सम्बन्धित कर्मचारी तथा शिक्षकको पारिश्रमिक र तलब वृद्धि गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि शिक्षा विभाग, योजना तथा कार्यक्रम शाखाले २०८३ भदौ ८ गते सबै स्थानीय तहलाई पत्राचार गरेको हो।

निर्देशनअनुसार प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीलाई संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरी निकासा दिनुपर्नेछ।

यस्तै, माध्यमिक तह कक्षा ९ र १० तथा आधारभूत तह कक्षा ६ देखि ८ सम्म संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब पनि बढाइएको छ। माध्यमिक तहमा कार्यरत शिक्षण सहयोग अनुदानका शिक्षकले अब माध्यमिक तह तृतीय श्रेणीको सुरुआती तलब बराबर र आधारभूत तह कक्षा ६ देखि ८ मा कार्यरत शिक्षकले निम्न माध्यमिक तह तृतीय श्रेणीको सुरुआती तलब बराबर पाउने व्यवस्था कार्यान्वयन गर्न भनिएको छ।

शिक्षा विभागले मन्त्रिपरिषद्को निर्णयअनुसार बढाइएको पारिश्रमिक तथा तलब यथाशीघ्र कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेको छ। विभागले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई समेत स्थानीय तहसँग आवश्यक समन्वय गर्न निर्देशन दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *