काठमाडौं । अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फिफा विश्वकप फुटबलमा १६ वर्षपछि स्पेनले अर्जेन्टिनालाई १–० ले पछि पार्दै विजयी हासिल गर्यो । स्पेनले दोस्रो पटक इतिहास रचेसँगै आगामी फुटबल कहिले र कहाँ हुने भन्ने विषयमा चासो बढेको छ । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियनको इतिहास रचेको हो । सन् २०१० मा स्पेनले विश्वकपमा पहिलो रेकर्ड राखेको थियो ।
नयाँ पुस्ता विश्व फुटबलको नेतृत्व गर्न तयार भएसँगै आगामी फुटबल विश्वकप थप रोमाञ्चक र सहभागिताको संख्या पनि बढाउनेमा फिफाले विश्वास लिएको छ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपले सन् २०३० मा नयाँ इतिहास रच्ने भएको छ। प्रतियोगिताको शतवार्षिकी संस्करण पहिलो पटक तीन महादेश र छ राष्ट्रमा आयोजना हुने भएपछि विश्वकपको स्वरूप नै फरक देखिने भएको हो।
फिफाले तय गरेको प्रारम्भिक योजनाअनुसार प्रतियोगिताको उद्घाटन चरणका तीन खेल दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन्। त्यसपछि प्रतियोगिताका बाँकी अधिकांश खेल स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन गरिनेछन्। सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको उरुग्वेलाई सम्मानस्वरूप उद्घाटन खेल आयोजना गर्ने अवसर दिइएको हो।
फिफाको प्रस्तावित तालिकाअनुसार शतवार्षिकी खेलहरू जुन ८ र ९ मा दक्षिण अमेरिकामा हुनेछन् भने मुख्य उद्घाटन समारोह तथा प्रतियोगिताको नियमित चरण जुन १३ र १४ देखि स्पेन, पोर्चुगल र मोरक्कोमा सुरु हुनेछ। यद्यपि, सम्पूर्ण खेल तालिका भने फिफाले अझै सार्वजनिक गरेको छैन। प्रतियोगिताको फाइनल जुलाई २१ मा हुने अपेक्षा गरिएको छ।
छ आयोजक राष्ट्र स्वतः छनोट
आयोजक राष्ट्र भएकाले स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले विश्वकपमा स्वतः स्थान सुरक्षित गरिसकेका छन्। बाँकी टोलीहरू महादेशीय छनोट प्रतियोगितामार्फत तय हुनेछन्। सन् २०२६ को विश्वकपबाट लागू भएको ४८ टोलीको ढाँचा २०३० मा पनि कायम रहने तय भए पनि सहभागी राष्ट्रको संख्या ६४ पुर्याउने विषयमा फिफाले छलफल अघि बढाएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले प्रस्तावमाथि अध्ययन र परामर्श जारी रहने बताएका छन्। उनका अनुसार ४८ टोलीको प्रणालीले धेरै राष्ट्रलाई विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर दिएको छ। त्यसैले सहभागिता अझ विस्तार गर्ने विषयमा सकारात्मक छलफल भइरहेको छ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपले २०३० मा सय वर्ष पूरा गर्दैछ। यही अवसरलाई विशेष बनाउन पहिलो पटक प्रतियोगिता तीन महादेशमा विस्तार गरिएको हो। उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन खेल आयोजना गर्नुको उद्देश्य विश्वकपको ऐतिहासिक सुरुवातलाई सम्मान गर्नु रहेको फिफाको भनाइ छ। २०३० को विश्वकपपछि सन् २०३४ को संस्करण साउदी अरेबियामा आयोजना हुनेछ। फिफाले यसअघि नै साउदी अरेबियालाई आयोजकका रूपमा अनुमोदन गरिसकेको छ। २०३० को बहुराष्ट्रिय आयोजनापछि २०३४ मा भने प्रतियोगिता एकै देशमा सञ्चालन हुनेछ।
विश्व फुटबलको इतिहासमा २०३० को विश्वकपलाई शतवार्षिकी उत्सव मात्र नभई आयोजना शैली, भौगोलिक विस्तार र सम्भावित नयाँ प्रतिस्पर्धात्मक ढाँचाका कारण पनि विशेष संस्करणका रूपमा हेरिएको छ।




