काठमाडौं । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ। वीर अस्पतालमा सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार अत्यन्त गम्भीर अवस्थामा उपचाररत रहेका नेपालीको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनको ज्यान गएको हो।
यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गर्दै नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको र शरीरका महत्त्वपूर्ण अंगमा गम्भीर असर परेकाले उपचार चुनौतीपूर्ण बनेको जानकारी दिएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारे निश्चित पूर्वानुमान गर्न नसकिने र जुनसुकै बेला थप जटिलता उत्पन्न हुन सक्ने बताएका थिए।
अस्पतालका अनुसार आगलागीका कारण नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उनलाई बचाउन कठिन भइरहेको चिकित्सकहरूको भनाइ थियो। उनी वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहारामा उपचाररत थिए।
उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा। पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली परिचालन गरिएको थियो। टोलीमा प्लास्टिक सर्जन, क्रिटिकल केयर विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट तथा अनुभवी नर्सिङ जनशक्तिको सहभागिता रहेको अस्पतालले जनाएको थियो।
स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर अवस्था स्थिर नभएकाले स्थानान्तरण सम्भव हुन नसकेको अस्पतालले जनाएको छ। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः उनको उपचारकै क्रममा निधन भएको हो।
गणेश नेपालीले काठमाडौंमा मोटरसाइकलमा ह्वील लक लगाइएपछि आत्मदाहको प्रयास गरेका थिए। उक्त घटनापछि ट्राफिक व्यवस्थापन, नगरप्रहरीको कार्यशैली, जरिवाना प्रणाली र नागरिकप्रतिको राज्यको जिम्मेवारीबारे देशभर व्यापक बहस सुरु भएको थियो। उनको निधनसँगै घटनाले थप गम्भीर मोड लिएको छ भने घटनाको निष्पक्ष छानबिन र आवश्यक नीतिगत सुधारको मागसमेत चर्किएको छ।




