काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पन्न भएका ४२ वटा प्रमुख कार्य सार्वजनिक गरेका छन्। मन्त्रालयले २०८२ चैत १३ देखि २०८३ असार १९ गतेसम्म भएका नीति, सेवा प्रवाह र संस्थागत सुधारसम्बन्धी उपलब्धिको विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार विद्यालय र उच्च शिक्षाको परीक्षा प्रणालीलाई समयमै नतिजा सार्वजनिक गर्ने दिशामा सुधार गरिएको छ। यसअन्तर्गत माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालय तहको नतिजा ६५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।
सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाका दिनसमेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
प्रगति विवरणमा जेन्जी आन्दोलनबाट प्रभावित परिवार तथा नागरिकका लागि सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना कार्यक्रम अघि बढाइएको उल्लेख छ।
उच्च शिक्षा सुधारअन्तर्गत त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्तिसम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन सुरु गरिएको छ। त्यस्तै नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउट, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित विभिन्न कार्यदलका प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ।
शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनका लागि भवन वा जग्गा उपलब्ध नगराउने तथा त्यस्ता भौतिक संकेत हटाउने नीति कार्यान्वयनमा ल्याइएको पनि मन्त्रालयको दाबी छ।
मन्त्रालयले स्वीकृत शैक्षिक क्यालेन्डरअनुसार शैक्षिक कार्यक्रम सञ्चालनको प्रणाली लागू गरेको तथा विश्वविद्यालय र स्वायत्त निकायका पदाधिकारीको छनोट स्वच्छ र प्रतिस्पर्धात्मक प्रक्रियामार्फत गरिएको जनाएको छ।
यस्तै, त्रिभुवन विश्वविद्यालयका अध्ययन बिदामा गएर तोकिएको समयमै नफर्किएका करिब ४०० प्राध्यापकबाट असुल गर्नुपर्ने करिब २ अर्ब रुपैयाँमध्ये हालसम्म १३ करोड रुपैयाँ राजस्व फिर्ता भइसकेको विवरणमा उल्लेख गरिएको छ। मन्त्रालयले बाँकी रकम असुली प्रक्रिया पनि निरन्तर अघि बढिरहेको जनाएको छ।




