काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिबाट नियुक्त भएका थापा यसअघि काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति रहिसकेका अनुभवी शिक्षाविद् हुन्।
इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय थापाले अब देशकै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयको नेतृत्व सम्हाल्ने भएका छन्। तीन दशकभन्दा बढीको शैक्षिक अनुभव बोकेका उनी उच्च शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने शिक्षाविद्का रूपमा परिचित छन्।
मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थापाले टर्बाइन प्रविधि र हाइड्रोलिक मेसिनमा बालुवाका कणबाट हुने क्षरणसम्बन्धी विषयमा स्नातकोत्तर तथा विद्यावारिधि गरेका छन्। उनले अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह र कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट विद्यालय शिक्षा पूरा गरेका हुन्।
सरकारी सेवाबाट व्यावसायिक यात्रा सुरु गरेका थापा खुला प्रतिस्पर्धामार्फत काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापक नियुक्त भएका थिए। त्यसपछि उनी प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै २०७७ सालमा काठमाडौं विश्वविद्यालयको उपकुलपति बनेका थिए।
केयूको नेतृत्व सम्हाल्दा उनले परम्परागत ज्ञान र आधुनिक शिक्षाबीचको सम्बन्ध विस्तार गर्ने प्रयास गरेका थिए। योग शिक्षा, क्राफ्ट एन्ड डिजाइन तथा सम्पदा अध्ययनजस्ता नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै शिक्षक प्रशिक्षणलाई संस्थागत रूप दिएका थिए। विदेशी विश्वविद्यालयसँग सहकार्य विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक साझेदारी बढाउन पनि उनले भूमिका निर्वाह गरेका थिए।
जलविद्युत्, ऊर्जा प्रणाली, हरित हाइड्रोजन, हाइड्रो-मेकानिकल प्रणाली तथा ऊर्जा संरक्षणका क्षेत्रमा उनका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनले तीन वटा पुस्तक, सयभन्दा बढी अनुसन्धानमूलक लेख तथा सम्मेलनपत्र प्रकाशित गरिसकेका छन्। शिक्षा, अनुसन्धान र नीति निर्माणसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
यद्यपि, त्रिविको नेतृत्व भने थापाका लागि चुनौतीपूर्ण हुने देखिएको छ। नियमित रूपमा देखिने तालाबन्दी, शैक्षिक क्यालेन्डर कार्यान्वयन, समयमा परीक्षा र नतिजा प्रकाशन, प्रशासनिक सुधार तथा विश्वविद्यालयमा सुशासन कायम गर्ने विषय उनका प्रमुख प्राथमिकताका रूपमा हेरिएका छन्।
यसैबीच सरकारले खुला प्रतिस्पर्धामार्फत सात विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापासँगै सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।
शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा कुलपतिले उनीहरूलाई नियुक्त गरेका हुन्। नयाँ नेतृत्वसँग उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन र विश्वविद्यालय सुधारप्रति अपेक्षा बढेको छ।




