काठमाडौं । विश्व फुटबलका दुई महान् खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच फिफा विश्वकप २०२६ मा बहुप्रतीक्षित प्रतिस्पर्धा हुने सम्भावना निकै कमजोर बनेको छ। पोर्चुगल समूह चरणमा उपविजेतामै सीमित भएपछि दुवै टोली फरक नकआउट ब्र्याकेटमा परेका छन्।
समूह चरणको समीकरणअनुसार अर्जेन्टिना आफ्नो समूहको विजेता बनेको थियो भने पोर्चुगल समूह ‘के’को उपविजेताका रूपमा अन्तिम १६ मा पुगेको छ। यससँगै क्वाटरफाइनलमै मेसी र रोनाल्डो आमनेसामने हुने सम्भावना समाप्त भएको हो।
उत्तर अमेरिकामा जारी विश्वकपमा कीर्तिमानी छैटौं पटक विश्वकप खेलिरहेका यी दुई सुपरस्टारको अन्तिमपटक विश्वकपमा प्रतिस्पर्धा हेर्ने आशामा विश्वभरका फुटबल समर्थक थिए। अर्जेन्टिना र पोर्चुगल दुवैले समूह विजेताका रूपमा अघि बढेको भए क्वाटरफाइनलमा उनीहरूबीच प्रत्यक्ष भिडन्त हुन सक्थ्यो।
तर पोर्चुगलले समूह चरणको अन्तिम खेलमा कोलम्बियासँग बराबरी खेलेपछि समूहको शीर्ष स्थान गुमायो। त्यसको प्रत्यक्ष असर नकआउट समीकरणमा परेपछि अर्जेन्टिना र पोर्चुगल फरक–फरक बाटोमा पुगेका हुन्।
अब मेसी र रोनाल्डोबीच विश्वकपमा प्रतिस्पर्धा हुनका लागि एउटै मात्र सम्भावना बाँकी छ। त्यसका लागि अर्जेन्टिना र पोर्चुगलले अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र त्यसअघिका सबै नकआउट खेल जित्दै फाइनलसम्मको यात्रा तय गर्नुपर्नेछ।
यदि दुवै टोली फाइनलमा पुगे मात्र विश्व फुटबलका यी दुई दिग्गजबीचको बहुप्रतीक्षित ‘ड्रिम म्याच’ सम्भव हुनेछ।




