काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औँ खेलमा जापानले ट्युनिसियामाथि एकतर्फी प्रदर्शन गर्दै ४–० को प्रभावशाली जित निकालेको छ। यस नतिजासँगै जापानले नकआउट चरण पुग्ने सम्भावनालाई थप मजबुत बनाएको छ भने लगातार दोस्रो हार व्यहोरेको ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ।
मेक्सिकोको मोन्टेरेमा सम्पन्न खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे। दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थप्दै टोलीको सहज जित सुनिश्चित गरे।
जापानले खेलको सुरुवातदेखि नै नियन्त्रण कायम राख्दै ट्युनिसियामाथि दबाब सिर्जना गरेको थियो। चौथो मिनेटमै केइतो नाकामुराको पासमा कामाडाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३१औँ मिनेटमा को इताकुराको पासलाई सदुपयोग गर्दै उएदाले अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा पनि जापानको आक्रमण निरन्तर रह्यो। ६९औँ मिनेटमा उएदाकै पासमा जुन्या इटोले गोल गरे भने ८३औँ मिनेटमा काइसु सानोको पासमा उएदाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानको जितलाई फराकिलो बनाए।
खेलभर ६२ प्रतिशत बल नियन्त्रणमा राखेको जापानले ११ प्रहार गर्दा पाँच प्रहार लक्ष्यमा राख्न सफल भयो। विपरीत, ट्युनिसियाले दुई प्रहार गरे पनि कुनै पनि लक्ष्यमा पुर्याउन सकेन।
समूह एफमा जापानले दुई खेलबाट चार अंक जोडेको छ। समान अंक रहेको नेदरल्यान्ड्ससँग गोल अन्तरका आधारमा प्रतिस्पर्धा जारी छ। पहिलो खेलमा जापानले नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो। ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ। यसअघि उसले स्वीडेनसँग ५–१ को हार बेहोरेको थियो।
अब जापानले समूह चरणको अन्तिम खेल स्वीडेनसँग खेल्नेछ। ट्युनिसियाले भने नेदरल्यान्ड्सविरुद्ध आफ्नो अन्तिम खेल खेल्दै प्रतियोगिताको यात्रा टुंग्याउनेछ। समूहको अन्तिम खेलपछि विजेता र उपविजेताको टुंगो लाग्नेछ।




