खेलकुद

क्यानडाको फराकिलो जित, कतारलाई ६–० ले पराजित

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा फराकिलो जित निकालेको छ । भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारलाई ६–० ले पराजित गरेको हो ।

क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरे भने साइले लारिन र नाथन सालिबाले एक–एक गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो ।

खेलको १६औँ मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाए । २९औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा कतारका हमाम अहमद रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो । पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गरे ।

५१औँ मिनेटमा असिम माडिबोले रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सीमित भयो । ६४औँ मिनेटमा नाथन सालिबाले गोल गर्दै क्यानडालाई ४–० को अग्रता दिलाए । ७५औँ मिनेटमा कतारका मोहम्मद मनाईले आत्मघाती गोल गरे । इन्जुरी समयको अन्त्यतिर जोनाथन डेभिडले ह्याट्रिक पूरा गर्दै क्यानडालाई ६–० को जित दिलाए ।

यो जित क्यानडाको विश्वकप इतिहासकै पहिलो जित हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले जित निकाल्न सकेको थिएन । क्यानडा दुई खेलबाट चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान तीन अंक भएको स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ भने बोस्निया एन्ड हर्जगोभिना र कतारको एक–एक अंक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *