गण्डकी प्रदेश

पर्यटन बजेटमा त्रुटि स्वीकार्दै गण्डकी सरकारको स्पष्टोक्ति, विनियोजन ९२ करोड ४९ लाख मात्रै

काठमाडौं । गण्डकी प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयको बजेट सम्बन्धी वक्तव्यमा भएको त्रुटि सच्याउँदै वास्तविक बजेट ९२ करोड ४९ लाख रुपैयाँ रहेको स्पष्ट पारेको छ। यसअघि बजेट वक्तव्यमा उक्त मन्त्रालयका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएको थियो। बुधबार प्रदेश सभामा बोल्दै आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा भएको अंकगत त्रुटिबारे जानकारी गराउँदै सरकारका तर्फबाट क्षमायाचना गरेका छन्। उनले मन्त्रालयको कमजोरी स्वीकार गर्दै वास्तविक विनियोजन रकम ९२ करोड ४९ लाख रुपैयाँ रहेको बताए।

असार १ गते सार्वजनिक गरिएको बजेट वक्तव्यमा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ छुट्याइएको उल्लेख थियो। तर मन्त्रालयगत बजेट विवरण र रातो किताबमा समावेश रकमसँग उक्त अंक नमिलेपछि विषय सार्वजनिक रूपमा चर्चामा आएको थियो। विवाद बढेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा सम्बन्धित मन्त्रीहरूबीच भएको छलफलले बजेट वक्तव्य परिमार्जन गर्नुभन्दा त्रुटि स्वीकार गरी संसदलाई वास्तविक अवस्था जानकारी गराउने निर्णय गरेको थियो।

प्रदेश सभामा मन्त्री शेरचनले “बुँदा नम्बर ५६ मा ९२ करोड ४९ लाख रुपैयाँ उल्लेख हुनुपर्नेमा अन्यथा हुन गएको” भन्दै कमजोरीप्रति खेद व्यक्त गरे। उनले आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धतासमेत जनाए। उद्योग तथा पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण, प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक पर्यटन विकास, होमस्टे विस्तार, ग्रामीण पर्यटन तथा पर्यटनसँग सम्बन्धित सीप र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धन र गन्तव्य व्यवस्थापनका कार्यक्रम पनि बजेटमा समेटिएका छन्।

प्रदेश सरकारले ल्याएको ३२ अर्ब ९९ करोड रुपैयाँको कुल बजेटमा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख भएपछि आन्तरिक रूपमा रकम मिलाउने प्रयास भए पनि अन्ततः सरकारले त्रुटि स्वीकार गर्दै वास्तविक बजेट सार्वजनिक गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *